हेटौंडा, असार १ । मुलुकको केन्द्रमा पर्ने बाग्मती प्रदेश सरकारले आज असार १ गते सोमबार आफ्नो तेस्रो पूर्ण बजेट ल्याउँदै छ। प्रदेश सरकारद्वारा आव २०७७/०७८ को पूर्ण बजेट ल्याइने भएको हो। संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्ने प्रावधान छ।
कोरोनाका कारण अर्थतन्त्रमा पर्ने प्रभावको मूल्यांकन गर्दै प्रदेशले आगामी आवका लागि चालू वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता दिएर आगामी वर्षको बजेट बनाइएको प्रदेश सरकारको भनाइ छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट बनेको बताए। उनले आगामी वर्षको बजेटमा राजस्वमा नयाँ स्रोतहरूको खोजी गरिने र राजस्वको दायरा ठूलो बनाइने बताए।
‘दर बढाउने भन्दा पनि क्षेत्र केही बढाउनेतर्फ ध्यान दिइएको छ। बजेटको स्रोत घट्ने अनुमान छ। कोरोनाको महामारीको अवस्था भदौसम्म जाने हो भने हामी तोकेको योजना पूरा गर्न सक्दैनौं। तापनि चालू वर्षकै बजेटको हाराहारीमा आगामी वर्षको बजेट बनाएका छौं। प्रदेशको बजेटको आकार चालू वर्षकै हाराहारीमा हुनेछ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजारको बजेट बनाएको थियो। चालूतर्फ २४ अर्ब ४६ करोड अर्थात् ५१.३९ प्रतिशत रहँदा पुँजीगततर्फ २२ अर्ब ८३ करोड (४७.९ प्रतिशत) थियो। त्यसअघि प्रदेशले ३५ अर्ब ६० करोड ५६ लाख रुपियाँको पहिलो बजेट बनाएको थियो।
आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक राजस्व परिचालन ८ अर्ब ३५ करोड १० लाख हुने संशोधित अनुमान थियो। यसका आधारमा लक्ष्यको तुलनामा आन्तरिक राजस्व संकलन ९८ करोड २६ लाख न्यून हुने बताइएको थियो।
‘प्रदेशमा स्रोत थोरै छ। हाम्रा आवश्यकता, माग, अभ्यास बढेका छन्। त्यसमाथि पनि यस वर्ष कोरोना भाइरसले पारेको प्रभावले विश्व अर्थतन्त्रमा असर गरिरहेको र त्यसको असर नेपालमै पनि परेको छ।’ उन्ले भने।
‘हामी कृषि र वनमा आधारित उत्पादनका क्षेत्र, घरेलु कच्चापदार्थमा आधारित उद्योग, बाख्रा व्यवसाय, दूध व्यवसाय, माछापालन जस्ता रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि हुने क्षेत्रमा ध्यान दिएका छौं।’ उनले भने। विशेष गरी स्वास्थ्य, रोजगारी, शिक्षा र पूर्वाधार निर्माणलाई बढी प्राथमिकता दिएर बजेट बनाइएको उनको भनाइछ।
उनले कतिपय बहुवर्षीय योजना र क्रमागत योजना निरन्तर हुने भन्दै केही नवीन सोचहरू आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएको स्पष्ट पारे। चालू वर्ष गर्न नसकिएको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई बजेट छुट्याइने छ। प्रदेश विश्वविद्यालयको तयारी भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि पनि बजेट छुट्याइने छ।


























