चैत्र १ । अप्रिलमा तय भएको लण्डन म्याराथन पहिलो पटक स्थगित भएको छ। कोरोना भाईरसको फैलदो संक्रमणको कारण देखाउँदै प्रतियोगिता अक्टोबर ४ का लागि सारिएको छ।
प्रतियोगिता यसअघि अप्रिल २६ मा सञ्चालन गर्ने तयारी थियो। सन् १९८१ मा म्याराथनको सुरुवात भएपछि पहिलो पटक प्रतियोगिता स्थगित भएको हो।
‘विश्व अप्रिय अवस्थामा रहेको छ। कोरोनाको माहामारीसंग जुधिरहेको अवस्था छ। सार्वजनीक स्वास्थ्य सबैको प्राथमिकतामा छ।’ म्याराथनका निर्देशक ह्युग ब्रेशरले भनेका छन्।
म्यान्चेष्टर म्याराथन समेत अप्रिल ५ मा तय भएको थियो। सो ईभेन्ट समेत तत्कालका लागि स्थगित भएको छ। आयोजकले म्याराथन स्थगित गर्दै निकट भविष्यमा नयाँ मिति सार्वजनीक गर्ने तयारी गरेको छ।
ब्राईटोन म्याराथन समेत अप्रिल १९ मा तय थियो। प्रतियोगिता सेप्टेम्बर २० सम्मका लागि स्थगित गरिएको छ। लण्डन म्याराथनका आयोजकले म्याराथन अक्टोबरमा सञ्चालन हुने भन्दै चाहेको खण्डमा दर्ता शुल्क फिर्ता हुने बताएको छ।
गत बर्ष ४३ हजारले दौड पुरा गरेका थिए । ईभेन्ट्सबाट च्यारिटीका लागि झण्डै ६६ मिलियन पाउण्ड रकम उठेको थियो। विश्वभर खेल कार्यक्रम रद्व भएपछि लण्डन म्याराथन समेत स्थगित गर्ने निर्णय गरिएको हो। एजेन्सी


























