फागुन ३०। ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) १७ दिन पछाडी सरेको छ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व क्रिकेटको प्रसिद्ध फ्रेन्चाईज प्रतियोगिता १७ दिन पछाडी सार्ने निर्णय भएको हो। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले खराब अवस्थालाई केन्द्रमा राख्दै सो निर्णय लिएको जनाएको छ।
पछिल्लो निर्णय अनुसार अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ।
बीसीसीआईले भनेको छ, ‘क्रिकेट प्रशंसक र क्रिकेटसंग जोडिएका सबै मानिसलाई सुरक्षित क्रिकेट अनुभव गराउने उद्धेश्यले आवश्यक कदम चालिएको छ’।
यसअघि आईपीएलको नयाँ संस्करण मार्च २९ बाट सुरु गर्ने तयारी थियो।
विश्व क्रिकेटका ठुला स्टार खेलाडी सहभागी हुने आईपीएललाई लिएर विभिन्न आशंका थिए। दिल्ली सहितका केही राज्यले आफ्नो राज्यमा आईपीएलको खेल गराउन नसक्ने बताएका थिए। केही राज्यले बन्द रंगशालामा आईपीएल खेलाउनुपर्ने माग गरेका थिए।
तर उल्लेख्य दर्शकको उपस्थिती रहने आईपीएललाई केही दिन पछाडी सार्ने अप्रिल १५ बाट प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको हो। एजेन्सी


























