– विनाेद अनुज/ सविता अधिकारी
चितवन,फागुन ३०। सन १९८१ मा लेखक ‘डीन कुञ्ज’ले सस्पेन्स उपन्यास लेखे ‘द आइज अफ डार्कनेस’। उपन्यासले एउटा काल्पनिक भाइरसको उत्पादन गर्यो ‘वुहान-४००’। यो नाम चीनको त्यही शहरको नामबाट प्रभावित छ, जुन यतिबेला सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट ग्रसित छ।
लेखक डीन कुञ्ज र उनको उपन्यास ‘द आइज अफ डार्कनेस’ एकाएक सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा चर्चाको विषय बनेको छ। कारण हो विश्वभर त्रास मच्चाइरहेको कोरोना भाइरस र त्यसको सबैभन्दा बढी प्रभाव परेको चीनको वुहान शहरको नामसँग मेल खाएको उपन्यासमा जैविक हतियारको रूपमा कल्पना गरिएको वुहान-४००। कुञ्जका प्रशंसकहरूले यसलाई इन्टरनेटमा उनको कल्पना दुरुस्तै मेल खाएको भन्ने विषयलाई एकाएक भाइरल बनाइरहेकोप्रति अन्तर्राष्ट्रिय समाचार संस्थाहरू आकर्षित भएका छन्। यो विषयमा खोज पनि चल्यो।

के चर्चा गरिएजस्तै कोरोना भाइरस र कुञ्जको परिकल्पना मिलेकै हो त? अाउनुहाेस्, छाेटाे चर्चा गराैं।
द आइज अफ डार्कनेस
विभिन्न क्याम्पेन गर्दै अगाडि बढिरहेको एउटा समूह हिमालयहरूमा पुग्छ। तर त्यो समूहका प्रत्येक सदस्य टोली नेता र चालकसहित सबैजनाको कुनै ज्ञात कारण बिना नै मृत्यु हुन्छ। तर समूहको सदस्यमध्ये एक ‘ड्यानी’ कि आमा आफ्नो छोराको मृत्यु स्विकार गर्न सक्दिनन् र त्यसको सत्यता खोज्न निस्कन्छिन्।
यो उपन्यासको पृष्ठभूमी हो यो। ड्यानीको मृत्युको अनुसन्धानमा थुप्रै कुराहरू पत्ता लाग्छन् जसले निस्कर्षमा बताउँछ कि त्यो मृत्युको कारण हो एउटा जैविक हतियार जसलाई नामाकरण गरिएको छ – ‘वुहान-४००’। तर यो नाम यो पुस्तकको पहिलो संस्करणमा ‘गोर्की-४००’ दिइएको छ। ‘गोर्की-४००’ तत्कालिन सोभियर रूसको शहरको नामबाट राखिएको हो, जहाँ यो भाइरस विकसित गर्ने प्रयोगशाला बनाइएको छ। सन् १९९१ मा सोभियत रुसको विघटनपछि पुस्तकको अर्को संस्करणमा यो प्रयोगशालालाई चीनको वुहान शहर लगियो र नाम दिइयो – ‘वुहान-४००’। उपन्यासमा यो भाइरसको बारेमा थुप्रै गुणहरू बताइएको छ। के ति गुणहरू कोरोना भाइरससँग मिल्छन् त!?

को हुन् डीन कुञ्ज?
सन् १९४५ मा अमेरिकाको पेन्सिलभानियामा जन्मिएका कुञ्ज ७४ वर्षका भए। आफ्ना बुबाबाट नियमितरूपमा कुटाइ खाने गरेको छाप उनका पछिल्ला पुस्तकहरूमा झल्किन्छ। १९६८ मा प्रकाशित ‘स्टार क्वेस्ट’ उनको पहिलो उपन्यास जस्तै शुरुवाती दिनहरूमा उनले साइन्स फिक्सनमा आधारित उपन्यास लेखे। १९७० पछि भने उनी सस्पेन्स र हरर उपन्यासहरू लेख्न थाले। अहिले हामीले चर्चा गर्दै गरेको उपन्यास ‘द आइज अफ डार्कनेस’ पनि एउटा सस्पेन्स-थ्रीलर उपन्यास हो। वर्षको ८ पुस्तकसम्म लेखेका कुञ्जको थुप्रै उपनाहरूबाट पुस्तक प्रकाशित छन्। सम्पादकहरूको सुझावका रूपमा उनले १० भन्दा बढी फरक नामबाट पुस्तक प्रकाशन गरेका छन्। उनका करिब १५० पुस्तक प्रकाशित छन् जसमध्ये हालसालै प्रकाशित ‘डिभोटेड’ पछिल्लो हो।
कोरोना भाइरस र वुहान-४०० को तुलना
सन् २०१९ , डिसेम्बरको अन्तिमतिर चीनको वुहानदेखि फैलिएको कोरोना भाइरस विश्वको विभिन्न देशमा फैलिदै छ। विभिन्न अध्ययन अनुसन्धान भइरहेको समयमा सन् १९८१मा अमेरिकी लेखक डीन कोन्ट्जले लेखेका थ्रिलर उपन्यास द आईज अफ डार्कनेसमा वुहान ४०० नामको भाइरस उल्लेख भएको पाइएको छ। उपन्यासमा भाइरस वुहान अनुसन्धान प्रयोगशालामा जैविक हतियारको रुपमा विकसित भएको थियो।
कोरोनाको केन्द्रबिन्दु वुहान शहर हुनु काल्पनिक भाइरस वुहान ४०० सँग मेल हुनुमा संयोग मात्र हुन सक्छ। कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउँछ भने वुहान–४०० ले मस्तिष्कको त्यो भागलाई नष्ट गर्छ, जसले शरीरको सबै स्वचालित कार्यहरु नियन्त्रण गर्दछ। कोरोना मानिसमा जंगली जनावरको मासु सेवनबाट संक्रमित भएको आशंका भएता पनि अझसम्म पनि वैज्ञानिक तवरले पुष्टी भएको छैन। यो भाइरसले मानिस सँगसँगै अन्य जीवमा पनि संक्रमण गर्छ। यसको ‘इन्क्युवेशन’ अवधि दुई हप्तासम्मको हुन्छ।
तर कुञ्जको उपन्यासमा उल्लिेख गरिएको भाइरस कोरोनाभन्दा भिन्न प्रकृतिको देखिन्छ। वुहान–४०० को ‘इन्क्युवेशन’ अवधि जम्मा चार घण्टा मात्र हुन्छ भने यसको आक्रमणपछि १२ घण्टाभित्र १०० प्रतिशत संक्रमितको मृत्यु हुन्छ। तर व्यक्तिगत स्वास्थ्यमा ध्यान राख्ने हो भने कोरोना भाइरसबाट बच्न सकिने चिकित्सकहरुको राय छ र हालसम्मको अवस्थालाई हेर्ने हो भने उपचारपश्चात घर फर्किनेहरुको संख्याको तुलनामा मृत्यु हुनेको संख्या अत्यन्त न्यून छ। उपन्यासअनुसार वुहान–४०० मानव शरीर बाहिर एक मिनेटभन्दा लामो समय बाँच्न नसक्ने भनिएको छ। कोरोनालाई जनावरहरुबाट मानव शरीरमा संक्रमित भएको आशंका गरिएको र यसलाई जैविक हतियारको रुपमा प्रयोग गर्न प्रयोगशालामा उत्पादन गरिएको कुनै पनि तथ्य फेला परेको छैन भने उपन्यासले वुहान–४०० लाई प्रयोगशालामा उत्पादन गरेर जैविक हतियारको रुपमा प्रयोग गरिएको जनाएको छ।
यसबाट निश्कर्ष के निस्कन्छ भने कोरोना भाइरसको संक्रमण फैलिएको शहर चीनको वुहान हुनु र उल्लिखित उपन्यासमा जनाइएको भाइरसको नाम यही शहर वुहानसँग मेल खानु संयोग मात्र हो। यी दुईमा कुनै पनि किसिमको समानता नरहेको देखिन्छ।
यस विषयमा लेखक कुञ्जको भने हालसंम कुनैपनि धारणा आएको छैन।
(सन्दर्भ सामाग्रीः डेलीमेल, द गार्जेन, लेखक डीन कुञ्जको आधिकारिक वेवसाईट www.deankoontz.com र विकिपेडिया)


























