काठमाडौं, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षले पदभार ग्रहण गरेका छन्। राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन्।
पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई काँग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताए।
स्थानीय तहसम्मका कमिटिहरुमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनुपर्ने बताए।
पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताए। राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उनको जोड छ।
नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेताहरुलाई पनि राप्रपामा ल्याउन प्रयास गरिने उनको भनाई छ। अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको गुनासो गरे।
‘जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक गरिएको छ’ राणाको भनाई थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता घोषणा भएको थियो।

























