काठमाडौं, फागुन २८ । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर राणाले सरकारले भ्रष्टाचारलाई गाऊँ–गाऊँ पुर्याएको आरोप लगाएका छन्। उनले अगाडि भने–‘चुनावमा सिंहदरबारको अधिकार गाऊँ–गाऊँ र वार्डसम्म पुर्याउने भनेका थिए, अहिले भ्रष्टाचार चाहिँ तलसम्म पुर्याएका छन्।’
७९ बर्षे राणाले राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभालाई बडो जोशका साथ सम्बोधन गर्ने क्रममा सरकारको विदेश नीतिप्रति समेत खिल्ली उडाएका छन्। उनले हिन्दुस्थान चिडिएको छ, चीन पनि खुसी छैन र अमेरिका पनि उस्तै छ भन्ने टिप्पणी गरे। उनले एमसीसीमा सरकारले अमेरिकालाई जिस्क्याएको समेत आरोप लगाए।
पूर्व वक्ताले जस्तै राणाले पनि हिन्दूराज्य र राजसंस्थाको वकालत गरे। तर, उनले आफ्नो पार्टी आधुनिक पनि भएको बताएका छन्।
राणाले प्रमुख प्रतिपक्षी पनि भागबण्डामा अलमलिएको आरोप लगाएका छन्। उनले सरकार र प्रतिपक्षी दुवै दिशाविहीन भएकाले राप्रपाको एकता अपरिहार्य रहेको समेत निश्कर्ष सुनाए। देशभरीबाट कार्यकर्ता र जनताको माग बमोजिम एकता गरिएको पनि सुनाए। पार्टी र मुलुकको काँचुली फेर्न पनि एकता गरिएको उनले दाबी गरे।
राणाले पूर्ववक्ताले जस्तो गीता नछोई भाषण अन्त्य गरेपछि कार्यकर्ताले हुटिङ गरेका थिए। त्यसपछि गीता छोएर राणाले ‘पार्टी फुट्दैन’ भनेर कराएका थिए।






















