काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकता फेरि भाँडिएको छ। शनिबार दुई पार्टीबीच एकतापत्रमा समझदारी हुने तय गरिएपनि विधानको विषयमा कुरो नमिल्दा फेरि एकता भाँडिन पुगेको हो।
शनिबार राप्रपा संयुक्तको कार्यसम्पादन समितिको बैठकमा सो पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ विधान भएमात्रै एकता हुने अडान लिएपछि एकता भाँडिन पुगेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार शुक्रबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.लोहनीबीच पार्टी एकता गर्ने विषयमा सहमाति जुटेको थियो। त्यसबारे राप्रपा संयुक्तले पार्टी कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गराएर एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने भनिएको थियो।
आजको कार्यसमिति बैठकमा लोहनीले नयाँ विधानको कुरा निकालेको र सोही अनुसार एकता गर्ने निर्णय राप्रपा संयुक्तको तर्फबाट भएपछि भाँडिन पुगेको हो।
पार्टी निर्णयपछि संयुक्तको तर्फबाट राणाले एकताको लागि नयाँ विधान हुनुपर्ने कुरा कमल थापालाई भनेका थिए। तर थापाले हिन्दु राष्ट्र र राजतन्त्रसहितको हालको विधान हुनुपर्ने अडान लिएका थिए।
राप्रपा निकट स्रोतले भन्यो–नयाँ विधानको कुरा गर्नु राष्ट्रसंस्था र हिन्दुराष्ट्र मान्दिनँ भन्नु हो। नयाँ विधानको बखेडा झिकेर एकता भाँड्ने काम भएको छ। यसबाट हजारौं कार्यकर्ताको भावनामाथि कुठाराघात भएको छ।’
दुई राप्रपाबीच एकता गर्नेबारे पटक पटक प्रयास हुँदै आएपनि त्यो प्रयास असफल हुँदै आएको छ।


























