काठमाडौं, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण गर्न दुई पार्टीका नेताहरूले अन्तिम गृहकार्य गरेका छन्। एकीकृत पार्टीका नाम, चुनाव चिह्न र झण्डाका विषयमा करिब–करिब सहमतिनजिक पुगेको राप्रपा (संयुक्त) का प्रवक्ता जनकराज पाठकले जनाएका छन्।
प्रवक्ता पाठकका अनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी हुनेछ। चुनाव चिह्नबारे हाल दुवै पार्टीको चिन्ह स्थगन गरिने र एकता भएको ६ महिना भित्रमा निर्णय गरिनेछ।
यसैगरी, केन्द्रीय समिति, पदाधिकारीलगायत एकीकृत पार्टीका सबै निकायमा वरावरिको आधारमा भागबन्डा गरिने छ। एकीकृत पार्टीमा तीन अध्यक्ष रहने प्रस्ताव गरिएको पनि पाठकले जानकारी गराए।
उनका अनुसार पशुपतिशमशेर राणा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापा रहने छन्। तिनै अध्यक्षको हैसियत भने बराबर हुनेछ। बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको छ। आपसी सहमतिमा महाधिवेशनको मिति तय गर्ने र ततपश्चात चुस्त रुपमा पार्टीलाई अगाडि बढाउने सहमति भएको पाठकले बताए। राप्रपा (संयुक्त) ले यहि विषयमा अन्तिम निर्णय लिन शनिवार विहान वैठक बोलाएको थियो। बैठकले अध्यक्षद्वय पशुपतिशमशेर जवरा, डा प्रकाशचन्द्र लोहनीलाई एकता सम्वन्धि अन्तिम निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको छ।
‘हामी अव एकताको प्रक्रियामा जादैछौं। यो विषयलाई तार्किक निष्कर्षमा पुर्याउन अध्यक्षद्वयलाई पुर्ण अधिकार प्रदान गरिएको छ। राप्रपा (संयुक्त) र राप्रपा को एकिकरण पछि अव राप्रपालाई नेतृत्वदायी दलको रुपमा स्थापित गर्न आफुहरु क्रियाशित रहने र आगामी निर्वाचनमा हाम्रो सानदार उपस्थित हुन्छ’, प्रवक्ता पाठकले भने, ‘हामी हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा स्पस्ट उभिएका छौं। यो दललाई राष्ट्रवादी दलको रुपमा स्थापना गर्नु हाम्रो दायित्व र कर्तव्य हो।’


























