काठमाडौं, फागुन २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच पार्टी एकीकरण हुने भएको छ। पार्टी एकता गर्ने भएसँगै शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ। पार्टीको नाम राप्रपा रहने गरी नै सहमति भएको छ भने तीन जना कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने भएका छन्।
पार्टीको हरेक तहमा प्रतिशतमा भागबण्डा गर्ने सहमति भएको छ। कमल थापा नेतृत्वको राप्रपाले ५५ प्रतिशत र राप्रपा संयुक्तले ४५ प्रतिशत लिने गरी दुवै पार्टीका शीर्षनेताहरुबीच सहमति भएको हो।
‘पार्टी एकता हुने नहुने भन्ने अन्योल भइरहेका बेला अहिले शीर्ष तहमै पार्टी एकता हुने सहमति भएको छ’, राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। पार्टीको चुनाव चिन्ह हलो या गाई राख्ने भन्ने विषय भने टुंगिएको छ। यसलाई पछि टुंग्याउने गरी पार्टी एकता गर्न लागिएको हो।






















