काठमाडौं, फागुन १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमाथि प्रश्न उठाएका छन्।
बिहीबार संसदमा समय लिएर बोल्दै उनले आफ्नो नामसमेत जोडर अनावश्यक हल्ला गरिएको बताएका छन्।
ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो।
तर शर्माले भने आफू गृहमन्त्री नभएको बेला भएको निर्णयमा नाम मुछिएकामा आपत्ति जनाए।
श्वेतपत्रअनुसार यसबारे थामसेर्कुको प्रस्ताव स्वीकृत गर्ने निर्णय कात्तिक १३ गते २०७४ मा भएको थियो।
तर आफू असोज ३० गते नै गृहमन्त्रीबाट हटेर विना विभागीय भएको भन्दै शर्माले प्रश्न गरे, ‘मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्नुको कारण के हो ?
आफ्नो नाम गलत गरिकाले मुछेको तर पछिल्ला विवादास्पद निर्णय गर्दा नेपाल ट्रष्टको संरक्षक तथा अध्यक्ष को थिए भन्ने उल्लेख नगरिएको भन्दै उनले आपत्ति जनाएका छन्।
उनले नेपाल ट्रष्टका सबै जग्गा फिर्ता ल्याउन र नयाँ ढंगले निर्णय गर्न माग गरेका छन्।


























