प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस १४औँ महाधिवेशनको तयारीमा छ। अबको एकवर्ष अर्थात् २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने भनेर कांग्रेसले मिति नै तोकिसकेको छ। यसबीचमा वडादेखि केन्द्रसम्मका सबै तहको अधिवेशन गरिसक्नुपर्ने दबाब कांग्रेसलाई छ। पार्टीको केन्द्रीय महाधिवेशनसँगै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन र वर्तमान सरकारमा प्रतिपक्षको भूमिका सम्बन्धी विषयमा केन्द्रित रहेर सोमबार नेपाल प्रेस युनियन चितवनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नमाथि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीको जवाफमा आधारित सामाग्री –
– हामीले पार्टीको चौधौँ महाधिवेशनको लागि मिति नै तोकिसकेका छौँ। सहमतिको आधारबाटै २०७७ सालको फागुन ७ देखि १० सम्म काठमाडौँमा महाधिवेशन गर्ने योजना बनेको छ। त्यसअघि वडादेखि पालिका हुँदै प्रदेशसभा तथा प्रतिनिधीसभाको निर्वाचन क्षेत्रसँगै सातवटै प्रदेश र ७७ वटै जिल्ला समितिको अधिवेशन गर्न पनि मिति तय गरिसकेका छौँ। र, महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण तथा नवीकरण र त्यसको अन्तिम सूची टुंगो लगाउन पनि हामीले मिति तय गरिसकेका छौँ। त्यसमा पर्ने उजुरीको लागि छानविन समिति गठन गरिसकेका छौँ। यसरी महाधिवेशनको सम्पूर्ण कार्यतालिका तयार पारिसकेका छौँ।
– नेपाली कांग्रेसमा सैद्धान्तिक मतभेद कसैमा पनि छैन। कसले के भन्नुहुन्छ, कुन अर्थमा भन्नुहुन्छ त्यो व्यक्तिले जान्ने कुरा हो। तर पार्टीको आधिकारिक कुरा के हो भने यसमा कुनै मतभेद छैन। अर्को कुरा नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्ने पार्टी हो। संघीय गणतन्त्रात्मक प्रणाली हामीले ल्याएका छौँ, संविधान बनाएका छौँ। पार्टीको सैद्धान्तिक पक्ष भनेको गणतन्त्र, समावेशीता, समाजवाद, लोकतन्त्र, धर्म निरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र संविधानका ‘फन्डामेन्टल इलिमेन्ट’हरू हुन्, यसमा कुनै विमती छैन, कुनै मतभेद छैन।
– नेपाली कांग्रेसको विधानअनुसार नै पार्टी चलेको छ। हामीले जे निर्णय गरेका छौँ, सबै सहमतिबाटै गरेका छौँ। त्यसैले कुनै पनि निर्णयमा एकलौटी भएको छैन। विगतका महाधिवेशन कार्यतालिका सम्बन्धी निर्णयमा केही साथीहरूले एकलौटी भयो भनेर भन्नुभयो। तर, त्यसलाई एकलौटी मान्न सकिँदैन। पार्टीभित्र बेलाबेलामा फरक खालका मत त आइहाल्छन् नि। तर, त्यसलाई मौलिक मतभेदको रूपमा लिनु हुँदैन।
– हामी संसदीय प्रणालीको विश्वास गर्ने प्रतिपक्षी हौँ, लोकतन्त्रमा विश्वास गर्ने प्रतिपक्षी हौँ। संसदमा भएका जनविरोधी, संविधान विरोधी, संघीयता विरोधी, प्रेस विरोधी, मानवअधिकार विरोधी, सूचना–प्रविधि विरोधी जस्ता विरोधी विषयमा आवाज उठाएकै छौँ। अहिलेसम्म जुन कानुन रोकिएको छ, त्यो नेपाली कांग्रेसकै भूमिकाका कारण रोकिएको छ। सडक, सदन र जनताको बीचमा पनि हामीले जनसरोकारका विषय उठाउँदै आइरहेका छौँ। त्यसकारण प्रतिपक्षको भूमिका कमजोर छँदै छैन। भूमिका जिम्मेवारीपूर्ण छ। प्रतिपक्षी कहीँ पनि चुकेको छैन।
– सरकार दुई वर्षमा पूर्ण रूपले असफल बनेको छ। प्रधानमन्त्रीले बोलेको कुरामा टेकेर हेर्ने हो भने दुई वर्ष सरकार टिक्नु नै ठूलो उपलब्धी हो। त्यसको सीधा अर्थ के हो भनेदेखि जनताको सरोकारको विषय उहाँको चासोको विषयमा पर्दैन। विकासको कुरा गर्नुस्, शान्ति सुरक्षाको कुरा गर्नुस्, विदेश नीतिको कुरामा हेर्नुस्, संघीय प्रणालीलाई अझै समृद्ध बनाउन आवश्यक कानुनको कुरामा हेर्नुस्, प्रदेश र स्थानीय तहहरूलाई अधिकार सम्पन्न बनाउने कुरामा हेर्नुस्, कुनै पनि क्षेत्रमा सरकारले काम गरेको देखिँदैन। ओलीजी आफैँले दुईवर्ष कुर्सीमा बस्नु नै ठूलो उपलब्धी मान्नुभएको छ।
– प्रतिपक्षी दल सरकार ढाल्ने योजनामा छैन। सरकार ढाल्ने पार्टीकाे रुचि हाेइन। ओली जिले कांग्रेसलाई सरकार ढाल्न खोजेको आरोप लगाउनु आफ्नै पार्टीको अन्तरद्वन्द्वको अभिव्यक्ति होला, पार्टीभित्रको राजनीतिक रोग होला। हामी त आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने योजनामा लागेका छौँ। १४औँ महाधिवेशनको तयारीमा लागेका छौँ। र, जनताको सरोकारको विषयमा सरकारले गरिरहेको गलत क्रियाकलापलाई जनताको बीचमा लगेर सु–सूचित गराउने काममा लागिरहेका छौँ।

























