काठमाडौं, फागुन ६ । चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले ४८ घण्टापछि आज (मंगलबार)बाट नियमित उडान गर्ने भएको छ। जहाजले मंगलबार राति ९ बजेर ५० मिनेटमा दोहा उडान गर्ने नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
कोराना भाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएपछि जहाजलाई पनि ४८ घन्टा क्वारेन्टाइनमा राखिएपछि केही समयको लागि नियमित उडान गर्न पाएको थिएन। जहाजको क्वारेन्टाइन अवधि सकिएपछि नियमित उडान भर्ने तयारीमा रहेको खड्काले जानकारी दिइन्।
‘अहिले जहाजको ढोका बन्द गरिएर राखिएको छ। दिउँसो मज्जाले सफा गरिन्छ, सिटको कपडा सबै अर्को हालिन्छ,’ उनले भनिन्, ‘त्यसपछि मात्रै उडान भर्न सुरू हुन्छ।’ जहाजलाई विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’को मापदण्ड अनुसार नै नियमित उडानमा ल्याउन लागेकाले सुरक्षित रहने भन्दै सबै यात्रुलाई ढुक्क हुन पनि उनले आग्रह गरिन्।
उक्त जहाज चीनको वुहानबाट नेपाली लिएर आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाजका पाइलटसहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि चाँगुनारायण नगरपालिकास्थित नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिएको छ। उद्दार गरेर ल्याइएका नेपालीलाई भने खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखिएको छ।

























