काठमाडौँ, माघ २८ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यसपालि पनि ‘जनयुद्ध’ दिवस मनाउने भएको छ। फागुन १ गते विशेष कार्यक्रम गरेर दिवस मनाउने नेकपाको तयारी छ। पार्टी कार्यालय धुम्बाराहीमा हुने कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने कार्यक्रम रहेको नेकपाले जनाएको छ।
तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर नेकपा बनेपछि गतवर्ष पनि दिवस मनाएको थियो। उक्त कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भने सहभागी थिएनन्। तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको थियो। केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले सोमबार निकालेको सूचनामा दुवै अध्यक्ष कार्यक्रममा सहभागी हुने उल्लेख छ।
सूचना अनुसार बिहीबार विहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनआन्दोलन÷जनयुद्धका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनेछन्। पार्टी एकीकरणपछि नेकपाले गएको वर्ष नै जनयुद्ध दिवस मनाउने निर्णय गरेको थियो। त्यसबेला जनआन्दोलन शब्द थपेर नेकपाले जनयुद्ध दिवस मनाउने सहमति गरेको थियो।


























