काठमाडौं, माघ २८ । पछिल्ला दिनहरुमा वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या उल्लेख्य रुपमा बढेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार वार्षिक करिब ३० हजार महिलाहरु कामको खोजीमा विभिन्न मुलुक पुग्ने गरेका छन्। यद्यपि श्रम स्वीकृति लिएरभन्दा पनि अवैधानिक तरिकाले विभिन्न नाका हुँदै पनि महिलाहरु विदेश पुग्ने गरेका छन्।
‘विगतको तुलनामा अहिले वैदेशिक रोजगारमा जाने महिलाको संख्यामा वृद्धि भइरहेको छ’ विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँँले भने, ‘तर सीप सिकेर जानुपर्छ भन्ने भावनाको विकास भने अझै पनि भएको छैन।’ विभागको तथ्याङ्अनुसार आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म २ लाख १७ हजार ४ सय ४१ जना महिला श्रमका लागि विभिन्न मुलुक पुगेको देखिन्छ।
हरेक आर्थिक वर्षमा २५ देखि ३० हजार महिलाहरु विदेशिने गरेको विभागको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ७२/७३ मा १९ हजार ३ सय, ०७३/७४ मा २० हजार १ सय, ०७४/७५ मा २२ हजार ४ सय महिला विदेशिएका थिए भने गत आर्थिक वर्ष अर्थात् ०७५/७६ मा २४ हजार ८ सय महिला विभिन्न मुलुकमा पुगेका छन्।
आर्थिक वर्ष ०६५/६६ सालतिरको तथ्यांक हेर्दा ८ हजार ६ सय महिला विदेशिएको देखिन्छ। तर, १० वर्षपछि अर्थात् अहिले त्यसको संख्यामा दोब्बरले वृद्धि भएको देखिन्छ।
प्रदेश २ र ३ का महिला धेरै
विभागकाअनुसार वैदेशिक रोजगारमा जाने कूल संख्या हेर्दा अधिकांश तराईका जिल्लाहरुमा त्यसमा पनि प्रदेश नम्बर दुई र तीनको बाहुल्यता धेरै छ। महिलाहरुका लागि कतार, मलेशिया, साउदी अरेबिया, कुवेत बहराइन, ओमान, जापान व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिका मुख्य गन्तव्यहरु हुन्। यी देशहरुमध्ये महिलाको संख्या भने कुवेत जानेमा बढी देखिन्छ।
व्यक्तिगत श्रम स्वीकृतिमा लिएका कुल २४ हजार ३ सय जनाको संख्यामा २० हजार २ सय महिला रहेका छन्। यो आर्थिक आर्थिक वर्ष ०७५/७६ को तथ्यांक हो। यसलाई आधार मान्ने हो भनेपनि वैदेशिक रोजगारमा जाने महिलाको पहिलो रोजाईमा कुवेत पर्ने गरेको देखिन्छ। कूल १ लाख १५ हजार ३ सय जनाले व्यक्तिगत प्रयासमा श्रम स्वीकृति लिएकोमा २७ प्रतिशत अर्थात् ३१ हजार ८ सय २० जना महिला छन्।
पुनः श्रम स्वीकृति लिनेमा भने महिलाहरुको संख्या कूल श्रम स्वीकृति लिनेकै हाराहारीमा अर्थात् ४ प्रतिशत देखिन्छ। कूल १५ लाख ८७ हजार ६ सय ५७ पटक पुनः श्रम स्वीकृति लिएकोमा ६४ हजार ५ सय १७ जना महिला छन्। महिलाहरु रोजगारीका शिलशिलामा जुनसुकै देशमा पुगेतापनि घरेलु कामदार वा ‘केयरगिभर’को रुपमा जाने गरेको पाइन्छ।
५० प्रतिशत झापाका
गत आर्थिक वर्षभित्र देशभर ७५ जिल्लाबाट कामको खोजीमा १ लाख ३२ हजार ९ सय महिलाहरु विदेशिएका छन्। जसमध्ये सबैभन्दा धेरै झापाबाट २३ हजार अर्थात् १७ प्रतिशत विदेशिएको तथ्यांकमा उल्लेख गरिएको छ भने दोस्रोमा सिन्धुपाल्चोक छ। मोरङ्ग, काठमाडौं, मकवानपुर, काभ्रेपलाञ्चोक, सुनसरी, नुवाकोट, चितवन र इलाम गरी १० वटा जिल्लाबाट १ लाख २२ हजार ६ सय महिला विदेशिएका छन्।
सीप बिना नै विदेश
वैदेशिक रोजगारमा जाँदा सूचना तथा जानकारी लिएर र अभिमूखिकरण तालिम लिएर जानैपर्ने कानूनी व्यवस्थासमेत छ। तर, कामको खोजीमा विदेशिनेहरुले अधिकांश सीप बिना नै श्रम स्वीकृति लिने गरेका छन्। सरकारले सीपयुक्त जनशक्तीलाई विशेष प्राथामिकता दिँदै आए पनि वैदेशिक रोजगारीमा जाने महिलाहरुमध्ये २५ प्रतिशतले मात्र सीप लिई दक्ष भएर जाने गरेका छन्।
विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदनअनुसार श्रम स्वीकृति लिने कुल ९७ हजार ३ सय जना महिलाहरुमध्ये ५८ प्रतिशत अर्थात् ५७ हजार २ सय जना सीप बिना नै श्रम स्वीकृति लिएका छन्। प्रतिवेदनअनुसार सीपको तहमा महिलाको संख्यालाई हेर्ने हो भने शून्य दशमलव पाँच प्रतिशतले वैदशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ।
सरकारले खाडी मुलुकमा महिला कामदार पनि जान पाउने व्यवस्था गरेपछि वैदेशिक रोजगारमा जाने महिलाको संख्या बढ्न थालेको छ। पढे लेखेकाहरु उच्च शिक्षाका नाममा विदेसिन्छन् भने कम पढेकाहरु पैसा कमाउनका लागि विदेशिएका छन्।
सरकारले आफ्नै देशमा जीविकोपार्जन गर्ने वातावरण मिलाउने आसमा रहेका नेपाली युवा अन्ततः वैदेशिक रोजगारलाई नै विकल्प बनाउन बाध्य छन्। स्थानीय तहहरुमा रोजगारीका अवसर सिर्जना हुन नसकेपछि पछिल्लो समय महिला दिदीबहिनीहरू पनि जीविकोपार्जनको माध्यम पहिल्याउँदै वैदेशिक रोजगारीतर्फ लम्किरहेका छन्।


























