जुम्ला, पुस २२ । जुम्लामा केही दिनदेखि रोकिएको हिमपात फेरि सुरू भएको छ। गत मंसिर महिनामै भारी हिमपात परेको जुम्लामा यो हप्तामा हिउँ पर्ने र रोकिने भइरहको छ। यसपटक पनि भारी वर्षाका कारण हिमपात बढेको हो।
हिउँ पर्न थालेपछि चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ भने यस क्षेत्रमा चल्ने यातायातका सेवासमेत अवरुद्ध भएको छ। हवाई यातायात ठप्प भएको छ।
तापक्रम माइनस पाँच डिग्री
तेस्रो पटक हिमपात भएसँगै जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ। आद्रता भने ६२ दशमलव ९ रहेको छ। यस पटक सबैभन्दा कम तापक्रम पुस १ गते माइनस ७ दशमलव २ डिग्रीमा झरेको थियो।
मङ्सिरमै करिब साढे दुई फिट हिउँ परेको थियो। त्यतिबेलाकै हिउँ पग्लिन नपाउँदै पटक–पटक हिउँ परेपछि स्थानीयको दैनिकिमा पूर्ण असर पुगेको छ। हिउँ परेपछि चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिकामा रुघाखोकीको समस्या बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।