काठमाण्डौं, पुस २२ । अष्ट्रेलियामा वर्षा भएपछि त्यहाँका मानिसहरूले केही राहत महसुस गरेका छन्। अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भइरहेका बेला सोमबार वर्षा भएपछि तापक्रम पनि केही मात्रामा घटेको छ। आगलागीकै कारण अस्ट्रेलियाको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो।
आगलागीका कारण झण्डै ५० करोड जीवजन्तु र पशुपंक्षी जलेर नष्ट भइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गएको सेप्टेम्बरबाटै सुरु भएको आगलागीले अहिलेसम्म कम्तीमा २४ जनाको ज्यान लिइसकेको छ भने झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली पनि नष्ट भइसकेको छ।
आगलागीका कारण न्यु साउथ वेल्स राज्यका दुई जना अझै बेपत्ता छन्। आगलागी झन् भीषण बन्दै गइरहेको छ। झण्डै दुई हजार घर जलेर खरानी भइसकेका छन्।
आगलागीका कारण एउटा नगर नै ध्वस्त
सोमबार अस्ट्रेलियाको राजधानी क्यानबेराको हावाको गुणस्तर विश्वका सबै ठूला शहरमध्ये सबैभन्दा खराब देखाएको थियो। अस्ट्रेलियाको गृह मन्त्रालयले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न निर्देशन दिएको थियो।
न्यु साउथ वेल्स ग्रामीण अग्नी सेवाका कमिस्नर शेन फिट्जसिमन्सले वर्षाका कारण अग्निशमन विभाग, आपतकालीन सेवाकर्मी र आगलागीबाट प्रभावित मानिसहरुमा राहत भएको बताए। तर, यसले आगो नियन्त्रणमा लिन रणनीतिक र प्राविधिक हिसाबमा चुनौती पनि भएको छ। न्यु साउथ वेल्सका प्रिमियर ग्लेडिस बेरेजिकेलियनले यही दौरान दुई जना मानिस बेपत्ता भएको बताए।
आगलागीलाई लिएर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निकै आलोचना भोग्दै आइरहेका छन्। देशमा आगो लगिरहँदा उनी सपरिवार छुट्टी मनाउन विदेश गएका थिए। निकै आलोचना भएपछि उनले पछि माफी पनि मागेका थिए। यही कारण प्रधानमन्त्री मोरिसनले भारत भ्रमण पनि रद्द गर्नुपरेको थियो।
प्रधानमन्त्री मोरिसनले आगलागीबाट प्रभावितका लागि नेशनल बुशफायर एजेन्सीमार्फत दुई अर्ब अस्ट्रेलियाली डलर बराबर खर्च गर्न बताएका छन्। लामो समयदेखि आगालागी भए पनि नियन्त्रण गर्न नसक्दा विश्वभरबाटै आगो नियन्त्रणको लागि कामना गरिरहेका छन्। सामाजिक सजालमार्फत आगो नियन्त्रणको लागि भगवानसँग प्रार्थना गरिरहेका छन्।