काठमाण्डौं, पुष २१ । संस्थापनइतर समूहले बोलाएको जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा जारी छ।
कांग्रेस केन्द्रीय समितिले पुस ११ गते बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या ४७ पुर्याउने लगायतको निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेको हो।
भेलामा हालसम्म ३० जिल्लाका सभापति भेला भएका छन्। भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताहरु सहभागी छन्।
११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन्। नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जिल्ला सभापतिहरुसँग ‘परामर्श भेला’ गर्न लागिएको र भेलाको सुझावका आधारमा अगाडि बढ्ने बताए।