डडेलधुरा, २६ असार। डडेल्धुराको रङ्गुन नदीमा माछा संरक्षण अभियान सुरु हुने भएको छ। डडेल्धुराको भित्री मधेशमा पर्ने रङ्गुन नदीमा माछा संरक्षण तथा सम्बर्द्वनको व्यवस्था गर्न परशुराम नगरपालिकाले अभियान सुरू गर्न लागेको हो।
परशुराम नगरपालिका क्षेत्रभित्र पर्ने रङ्गुन खोला तथा जलाधार क्षेत्रमा सङ्काटापन्न जातको माछापालनलाई समुदायको जीविकोपार्जनसँगै जोड्दै संरक्षणको अभियान चलाइन लागेको नगरपालिका जनाएको छ। जथाभावी माछा मार्ने परम्परागत प्रचलनलाई रोक्दैै नगरपालिकाले व्यवस्थित गर्न लागेकोमा स्थानीयवासीले पनि सकारात्मक रूपमा लिएका छन्।
माछाको संरक्षण सुनिश्चित गर्न नदी क्षेत्रका जनतालाई विषादी प्रयोग नगर्न र लोप भइरहेका माछालाई संरक्षण गर्न जनचेतनामूलक कार्यक्रम गरेपछि जोखिममा रहेका ५२ प्रजातिका माछा संरक्षण हुने बताइएको छ।
रङ्गुन खोला तथा जलाधार क्षेत्रका आम नागरिकको सुविधा र जीविकोपार्जन कार्यक्रमका लागि जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन, २०७५ को दफा ४२ बमोजिम आवश्यक निर्देशिकामा व्यवस्था जारी गरिने नगरपालिकाले जनाएको छ। –रासस