बुद्ध जयन्तीको दिनबाट सुरू गरिने
पर्वत, २३ बैशाख।
कुश्मा नगरपालिकाले वुद्ध जयन्तीबाट नगरपालिकाभित्र पर्ने सबै वडाहरुमा वृक्षारोपण गर्ने निर्णय गरेको छ। जेठ ४ गतेबाट सुरू हुने वृक्षारोपणलाई वर्षभरि नै निरन्तरता दिने योजना रहेको नगरपालिकाका मेयर रामचन्द्र जोशीले बताउनुभयो। ‘हामीले यो वर्ष बुद्धजयन्तीको अवसर पारेर नयाँ कामको थालनी गर्ने निर्णय गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाभित्रका सबै वडामा विभिन्न चरणमा वृक्षारोपण कार्यक्रम हुनेछ।
उहाँका अनुसार वडा नं.७ को अग्लो पुल टोलबाट वृक्षारोपण सुरू गरिनेछ। जेठ ४ गते वडाभित्रको एउटा सडकको दुवैतर्फ धुपी रोप्ने र सडकको नाम नै ‘धुपी सडक’ राख्ने निर्णय भएको उहाँले बताउनुभयो। यस्तै गरि अर्को सडकमा दुवैतर्फ अशोकको बिरूवा रोप्ने र उक्त सडकको नाम ‘अशोक मार्ग’ राखिनेछ।
धार्मिक एवम् सांस्कृतिक महत्त्वको आधारमा वडा नम्बर ७ को खरेहामा ॐ पार्कसमेत तयार गर्ने लक्ष्य रहेको मेयर जोशीले बताउनुभयो। ‘उक्त पार्कमा १०८ पिपलको विरुवा ॐ आकारमा लगाइनेछ,’ उहाँले भन्नुभयो, ‘प्रत्येक पिपलको बोटलाई चौताराको रुपमा विकसित गर्ने र प्रत्येक चौताराको उपयुक्त ठाउँमा तुलसी, कुश, दुबो र शालिग्रामलाई व्यवस्थित गरिनेछ।’ उहाँका अनुसार उक्त पार्कभित्र पोखरीसमेत निर्माण हुनेछ। सोही पोखरीको बीचमा बुद्धको मूर्ति राखिनेछ । पार्कभित्र वनभोज खान मिल्ने वातावरण मिलाइनेछ।
पिपलको बोटमुनि वुद्धले ध्यान गरेर ज्ञान प्राप्त गरेकाले नेपाली समाजमा पिपलको धार्मिक तथा वैज्ञानिक महत्त्व छ। ‘१०८ लाई हिन्दू, बौद्धिष्ट तथा योगा परम्परामा ठूलो महत्त्व दिइने भएकोले यसरी १०८ पिपलको बोटयुक्त ॐ पार्क निर्माण गरिने अबधारणालाई अगाडि बढाइएको कुश्मा नगरपालिका वडा नं. ७ का अध्यक्ष सुभाशचन्द्र पौडेलले बताउनुभयो। ‘यो अवधारणालाई मूर्तरुप दिन नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यो योजना सफल बनाउनको लागि जनस्तरबाट सहयोगको अपेक्षा गरेको छु।’
यस्तै गरि वडा नम्बर ८ को बिष्णु बाटिका आस्वस्थ मुक्ति मार्गमा वातावरण दिवसका दिन वृक्षारोपण गर्ने कार्यक्रम रहेको मेयर जोशीले बताउनुभयो। सबै वडामा वडा अध्यक्षहरूलाई काम गर्ने जिम्मा दिइएको उहाँको भनाइ छ। सोहीअनुरूप वडा नं.८ मा वडा अध्यक्ष राजकुमार क्षेत्रीको नेतृत्वमा काम हुनेछ। त्यसपछि नगरपालिकाभित्रका सबै वडाहरूमा वृक्षारोपण गर्दै जाने नगरपालिकाले जनाएको छ।