चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ। नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिद्रहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो। छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर खिचेका थिए। नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो।
बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो। विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन्। यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ। फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ। यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन्। यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ। चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ।

Facebook Comments


























