चितवन, २७ बैशाख। गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डाबाट बच्चा कोरल्ने कार्यमा सोचेजस्तो सफलता पाउन नसकेपछि विज्ञहरूले गिद्ध प्रजनन् केन्द्रमा अनुसन्धान थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंक्षी संरक्षण संघले सन् २००८ मा कसरामा प्रजनन् केन्द्र स्थापना गरेर गिद्ध संरक्षण गर्दै आएका
छन्। तर, प्रतिफल भने सोचेजस्तो नआएपछि प्रजनन् केन्द्रमा अनुसन्धान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए।
उनका अनुसार हालसम्म प्रजनन् केन्द्रमा रहेका गिद्धले ६८ वटा अण्डा पारेको थियो। तर, १८ वटा मात्रै बच्चा कोरलिएका छन्। विसं २०७१ मा पाँच वटा अण्डा पारेर एउटा बच्चा कोरलिएको थियो। वि.सं.२०७२ मा भने सात वटा अण्डा पारे पनि बच्चा भने कोरल्न सकेन। विसं २०७३ मा १५ वटा अण्डा पारेर जम्मा नौ वटा, विसं २०७४ मा २१ वटा अण्डा पारेर जम्मा सात वटा बच्चा कोरलिएको थियो। तर, विसं २०७५ सालमा आएर २० वटा अण्डा पार्दा जम्मा दुई वटा बच्चा मात्रै बाच्चा कोरलिएपछि यसको वास्तविकताबारे अनुसन्धान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए।
स्थापनाको समयमा करिब तीनवर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो। त्यहीँ हुर्किएका गिद्धमध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ। सन् २०१७ मा सात वटा पोथी र सन् २०१८ मा ८ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेस्टुराँमा राखेर प्रकृतिमा छाडिएको हो। सन् २०१९ मा छ बच्चा, चार पोथी र तीन भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेस्टुराँमा राखिएको छ। हाल प्रजनन् केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन्।
नेपाल पंक्षी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले यस वर्षको प्रजननको समस्या देखेर आफूहरु आश्चर्यमा परेको बताइन। यससँगै गम्भीररुपमा अनुसन्धान सुरु गरिएको उनले बताइन। उनका अनुसार सुरुवाती वर्षमा लिङ्ग पहिचान गरी भालेपोथीको अवस्था बारे अध्ययन गरेर छुट्याएर राखिएको थियो। लिङ्गअनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएका हुन्। प्रजनन् केन्द्र हेर्दै आएका राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. विकल्प कार्कीले विदेशी विज्ञसँगसमेत यस विषयमा परामर्श गरिरहेको बताए। ‘कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने। चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ। -रासस