चितवन १५ पुस । बुधबार हिउँदे वर्षाले देशभरको जनजीवन अनपेक्षित कष्टकर बन्यो। जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहानबाट मौसममा क्रमिक सुधार आई घाम लाग्न सक्ने बताएको छ। आज पानी पर्ने सम्भावना निकै कम भए पनि जाडो बढ्ने कुरा मौसम पूर्वानुमान शाखाको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ७ रहेकोले दिनभर पानी पर्नुको बाबजुद पनि धेरै जाडोको अनुभव भएन। बुधबारको अधिकतम ८ डिग्री सेल्सियसभन्दा माथि जान सकेन। तर, बुधबार दिनभरि घाम नलागेका कारण बिहीबार भने तुलनात्मकरूपमा जाडो बढ्नेछ।
मौसम विभागका अनुसार पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले मंगलबार रातिदेखि देशका विभिन्न भागमा हिउँदे वर्षा शुरू हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातसमेत भएको थियो। बुधबार दिनभर अविरल पानी पर्नुका साथै उपत्यकाका अग्ला पहाड फुल्चोकी, शिवपुरी र चन्द्रागिरिको साथै कर्णालीको मुगु, हुम्ला, जुम्ला, डोल्पालगायतका जिल्लाहरूमा पनि हिमपात भयो।
दार्चुलाको लेकाली बस्ती, हुम्लाको सिमकोटसहित माथिल्लो क्षेत्र, सुदूर पश्चिमको उच्च लेकाली भेगमा मंगलबार रातीदेखि नै वर्षासँगै हिमपात भयो। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पनि मंगलबार रातिदेखि लगातार परेको हिउँले सेताम्मे भएको छ। रसुवाको हिमाली भेगमा बुधबार बिहानदेखि नै बाक्लो हिमपात भएको थियो। मौसम विभागले यी सबै भूभागमा क्रमिक रूपमा मौसममा सुधार हुने जनाएको छ।
बिहीबारदेखि उपत्यका र तराई क्षेत्रमा मौसम सुधार हुने तर पहाडी क्षेत्रमा भने सामान्य बदली भई थोरै स्थानमा पानी पर्ने मौसम विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा भने अझै पनि हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बताइएको छ। वर्षाका कारण देशभरका विभिन्न स्थानबाट हुने हवाई उडान रोकिएका छन्। वर्षा र हिमपातका कारण उच्च पहाडी र हिमाली भूभागमा सडक यातायातसमेत अवरुद्ध भएको छ।
पहिलो हिमपात
उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सीमभञ्याङ र दामन क्षेत्रमा मंगलबार रातिदेखि निरन्तर परेको हिमपातले वरपरका अग्ला डाँडाहरू सेताम्मे भएका छन्। हरेक वर्षजसो हिमपात हुने उक्त क्षेत्रमा यस वर्षको हिउँदमा बुधबार पहिलोपटक हिउँ परेको हो। हिमपातका कारण त्रिभुवन राजपथको पालुङ–अघोर खण्डको झण्डै १० किलोमिटर सडकमा हिउँ जमेको छ।
सडकमा हिउँ जमेका कारण उक्त सडक भएर चल्ने सवारीहरू बीचमै रोकिएका छन् भने हेटौंडा–काठमाडौं जोड्ने पुरानो सडकमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता राजकुमार सापकोटाका अनुसार बिहानबाट शुरू भएको बाक्लो हिमपातले सडकमार्गको सीमभञ्याङ र दामन क्षेत्रको सडक पूर्णरूपमा अवरुद्ध बनेको हो। जिल्लाको थाहा नगरअन्तर्गत सीमभञ्ज्याङ, दामन र अघोरमा वर्षासँगै बाक्लो हिमपात भएको छ।
दामन र सीमभञ्याङसहित हिउँ परिरहेकाले तत्काल हिउँ पञ्छाएर सवारी आवागमन चालु गर्न सम्भव नरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। मंगलबार रातिदेखि बाक्लो हिउँ परेपछि बुधबार बिहान करिब सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।
गोरखाको उत्तरी क्षेत्रमा पनि हिउँ परेर डाँडाकाँडा सबै सेताम्मे भएका छन्। हिउँ परेपछि त्यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ।
अलपत्र ७ पर्यटकको उद्धार
हिमालपारिको जिल्ला मुस्ताङमा भएको भारी हिमपातका कारण अलपत्र परेका ७ जना पर्यटकको उद्धार गरिएको छ। बाग्लुङबाट उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ घुम्न गएका सात पर्यटकलाई बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, समर भीरबाट उद्धार गरिएको हो। परिवारका सदस्यहरू मिलेर मुस्ताङ गएको बेला हिमपातले सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जान नसकी चराङबाटै जोमसोमतर्फ फर्किने क्रममा उनीहरू अलपत्र परेका थिए।
मंगलबार राति ८ बजे चराङबाट फर्किएका उनीहरू करिब १० बजे समर भीरमा अलपत्र परेको सूचना पाएपछि प्रहरीले उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए। मुस्ताङको सदरमुकाम जोमसोममा हल्का हिमपात भए पनि उपल्लो मुस्ताङमा भने करिब दुई फिट बाक्लो हिउँ जमेको छ। अत्यधिक चिसोका कारण स–साना खोलानालामा पनि पानी जमेको छ। धारामा आउने पानी पनि बरफ बनेको छ भने जनजीवन प्रभावित भएको छ।
हिमपातले जनजीवन कष्टकर
देशैभर भएको वर्षा तथा हिमाली भागमा परेको हिउँले गर्दा जनजीवन कष्टकर बन्दै आएको छ। हिमाली जिल्ला मनाङमा पनि हिमपात हुन थालेपछि केही स्थानीयवासी जिल्लाबाहिर हिँडेका छन्। मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखि नै हिमपात शुरू भएको थियो भने तल्लो भेग सदरमुकाम चामेआसपासमा १२ गतेबाट हिमपात परेको हो।
लगातार भइरहेको बाक्लो हिमपातले मानिस हिँडडुल गर्न कठिन भएको छ। सवारी आवगमनसमेत ठप्प भएको छ। अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ। जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ।
पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। स्थानीयका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ। माथिल्लो मनाङ पिसाङका रा गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताए। उनका अनुसार स्थानीय साथै चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन्। चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन्।
हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए। सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रका साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्यधिक चिसो बढेको बताए। विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको उनले बताए।
गत एक हप्तामा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ।


























