काठमाडौँ, २६ असार। सिद्घार्थ बैंक लिमिटेडले रूरल हेल्थ एण्ड एजुकेशन सर्भिस् ट्रस्टलाई आर्थिक सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्रस्टलाई दुई लाख पचास हजार सात सय पच्चीस रूपैयाँको चेक प्रदान गरिएको हो । गैर सरकारी संगठनसँग संलग्न भई देशभरका विभिन्न जिल्लामा हुने गरेका महिला बेचविखन जस्ता विकृतिलाई निवारण, महिला हिंसाको अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारका लागि सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकबाट प्राप्त रकम ट्रस्टद्वारा उल्लेखित आवश्यक परेका १६ छात्राहरूको शिक्षाका निम्ति प्रयोग गरिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले जानकारी दिए। बैंकले सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धि विभिन्न खालका कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। आउँदा दिनहरूमा समेत उक्त कार्यले निरन्तरता पाउने उनले बताए।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सिद्धर्था बैंकले देशभरका विभिन्न जिल्लाहरूबाट १५६ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १७२ एटिएम सेवा, र १ हजार ३०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

























