चितवन, २६ असार। भारतीय आँप ल्याएको ट्रकमा तोडफोड भएको छ। भारतबाट चितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारको लागि आँप बोकेर आएको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन्। स्कुटरमा आएका युवाहरूले गाडीको अगाडिको सिसा फुटाइदिएका छन्।
उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए। ‘ट्रकमा तोडफोड गरेपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर चिसोका कारणले सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगियो,’ उनले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ।’
सो ट्रकमा पाँच टन आँप थियो। ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार गरेका थिए। त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ।
चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए। प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ।
चितवनकै सबैभन्दा ठूलो यो तरकारी बजारमा सीसीटीभीसमेत छैन। तर बजारको सुरक्षाका लागि सीसीटीभी जडानको प्रकृया भने अघि बढाइएको संघका निवर्तमान अध्यक्ष धितालले बताए।