काठमाडौँ, २२ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाने नेपालीलाई अधिकतम सुरक्षा प्रदान गर्न सरकार कटिबद्ध रहेको बताएका छन्। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बारेमा मन्त्री विष्टले वैदेशिक रोजगारको परनिर्भरता कम नहुञ्जेलसम्म गुणस्तरीय तथा सुविधा सम्पन्न देशको खोजी गर्न सरकार लागि परेको बताएका हुन्।
आगामी एक वर्षभित्र पाँचलाख व्यक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकार दृढ विश्वासका साथ लागि परेको उल्लेख गर्दै उनले भने, ‘यसैवर्ष ७५३ स्थानीय निकायमा कूल एकलाख छ हजार व्यक्तिले रोजगार पाउने गरी योजना पुर्याइएको छ।’ सदनमा सांसद मुक्तकुमारी यादव, रामलखन चमार, प्रकाश पन्त र बद्रीप्रसाद पाण्डेले क्रमशः मलेशियामा रोजगार, दलितलाई रोजगारमा पहुँच, वैदेशिक रोजगारमा दुःख पाएका नेपालीलाई घर फर्काउन गरेका प्रयास सम्बन्धमा मन्त्रीसँग जिज्ञासा राखेका थिए।
मन्त्री विष्टले सदनमा वैदेशिक रोजगारमा युवालाई पठाउन सरकारले प्रोत्साहन नगरेको स्पष्ट पार्दै वैदेशिक रोजगारको परनिर्भरता नघटेसम्म सुविधा सम्पन्न मुलुकको खोजी सरकारले गर्ने तथा मलेशिया र जापानतर्फ जाने नेपाली कामदारलाई छिटोभन्दा छिटो त्यसतर्फ पठाउन क्रियाशील भइरहेको तथा जातीयताका आधारमा सरकारले कसैलाई विभेद नगरेको सदनलाई स्पष्ट पारे।