काठमाडौँ, २२ असार। आइतबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले ट्वीटमा लेखे,
भनिन्छ, छौंडाहरू
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दुःख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका ?
रिमालको यस्तो ट्वीटले आइतबार सामाजिक सञ्जाल निकै तात्तिएको छ। सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ता नै यस विषयमा बहस गर्नमा व्यस्त देखिन्थे। उक्त बहसमा केहीले समर्थन गरेका छन् भने केहीले विरोध।
शनिबार संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना हुनु र भोलिपल्ट बिहानै रिमालको आक्रामक ट्वीट आउनुले उनको ट्वीटबारे अनेक अड्कलबाजी भइरहेको छ। सरकार पछिल्लो समय आफ्नै निर्णयहरुका कारण एकपछि अर्को प्रकरणमा फस्दै जाँदा पार्टीभित्रै रक्षात्मक अवस्थामा पुगेको बेला रिमालले छौंडा भनेर आफ्नै पार्टीभित्र संकेत गरेको धेरैको अनुमान छ।
नेकपाकै नेता भीमबहादुर रावललगायतले सार्वजनिकरुपमा सरकारका कामप्रति तीव्र असहमति जनाइरहेका बेला रिमालको ट्वीटले थप चर्चा पाइरहेको छ। भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएपछि नेताहरुले भारतसामू झेकेको हो भन्ने प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले सरकारका कामबारहीबारे कुनै अहसमति भए पार्टी बैठकहरुमा राख्न सकिने तर बाहिर सरकारविरुद्ध अभिव्यक्ति दिनु संसदीय मर्यादा विपरित रहेको बताएका थिए। सरकारको काम कारवाही र एकपछि अर्को विवादबारे पार्टीभित्रै केही नेताले चर्को बिरोध गर्दा सरकार अप्ठ्यारोमा परेको उनको गुनासो थियो।
तर संसदीय दलको बैठकपछि रावलले पत्रकारहरुसँग कुरा गर्दै विषादी परीक्षण गर्ने निर्णय रोक्न भारतले दबाव दिनु र सरकारले त्यसअनुसार गरेको भन्दै आश्चर्य व्यक्त गरेका थिए। माधवकुमार नेपाल लगायतका नेताहरुले पनि असन्तुष्ट जनाए। त्यहीबेला प्रधानमन्त्रीका सल्लाहकार रिमालको सांकेतिक तर कटाक्षपूर्ण ट्वीटले सत्तारुढ नेकपा पंक्तिमा नै खैलाबैला मच्चिएको छ।
स्थायी कमिटी सदस्य र सरकार सञ्चालनमा निर्णायक भूमिका खेलेका रिमालाको ट्वीटप्रति शीर्ष नेताहरुले समेत चासो देखाएका छन्। सर्बत्र चासोको विषय बनिरहेका बेला रिमालले भने ट्वीटमा आफ्नो भावना मात्र व्यक्त भएको भन्दै कसैप्रति लक्षित नरहेको बताएका छन्। ‘कुनै व्यक्तिप्रति लक्षित होइन, कसैसँग मेल खान गएमा संयोगमात्र हुनेछ,’ उनले भने।


























