काठमाडौँ, ०४ असार। महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै छ करोड रूपैयाँ ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी बुधबार काठमाडौँ ल्याई सार्वजनिक गरेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए। ‘पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर गालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने। पक्राउ परेका पौडेलले काम गर्न जाने लागत पाँच लाख रूपैयाँ र तलब अमेरिकन डलर ६५० हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको छ करोड रूपैयाँ ठगी गरेको महाशाखाको दाबी छ।


























