लन्डन, ०२ असार। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा भारत विजयी भएको छ। म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको खेलमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा ८९ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो।
भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएर खेलिरहेको अवस्थामा पानी पर्न सुरु भएको थियो। केही समयपछि खेल पुनः सुचारु भयो। ४० ओभरमा झारिएको खेलमा पाकिस्तानले डकवर्थ एन्ड लेविस नियमका आधारमा ३०२ रनको नयाँ लक्ष्य पाएको थियो। जसमा २१२ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान फाखर जामनले ६२ रन बनाए। यसैगरी बाबर आजमले ४८, इमाद वासिमले अविजित ४६, सदाव खानले २० र कप्तान सरफराज अहमदले १२ रन बनाए। भारतका कुलदीप यादव, हार्दिक पाण्ड्या र विजय शंकरले २/२ विकेट हात पारे।
यसअघि ओल्ड ट्राफोर्डमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३६ रन बनाएको थियो। भारतको विशाल योगफलमा रोहित शर्माले शतक र कप्तान विराट कोहली तथा लोकेश राहुलले अर्धशतकीय पाली खेले।

लामो समय क्रिजमा जमेका रोहितले १४० रनको महत्वपूर्ण पाली खेले। ११३ बल खेलेका उनले तीन छक्का र १४ चौका हिर्काए। जारी विश्वकपमा रोहितको दोस्रो शतक हो। यसअघि उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए। उनले उक्त खेलमा १२२ रन बनाएका थिए। यससँगै रोहितले एकदिवसीय क्रिकेटमा आफ्नो शतक संख्या २३ पुर्याएका छन्।
यसैगरी कप्तान कोहलीले पनि आफ्नो ५१औं अर्धशतक पूरा गरे। तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रिएका उनले ७७ रन बनाए। ६५ बलको सामना गरेका उनले सात चौका हिर्काए। उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन बनाउने खेलाडी पनि बनेका छन्। उनले २३० खेलको २२२ पालीबाट यो कोसेढुंगा बनाएका हुन्। यसअघि यो कीर्तिमान सचिन तेन्दुल्करको नाममा थियो। उनले २७६ पालीमा ११ हजार रन पूरा गरेका थिए।
यसैगरी भारतका लोकेश राहुलले ५७, हार्दिक पाण्ड्याले २६ र विजय शंकरले १५ रन बनाए। पाकिस्तानका मोहम्मद आमिरले तीन विकेट लिए। यस्तै हसन अली र वाहव रियाले एक/एक विकेट हात पारे। विश्वकपको आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा भारतले पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो। भारत र न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक/एक अंक बाँडेका थिए।
यसैगरी पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो। दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो। चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो।पाकिस्तानले हालसम्म विश्वकपमा भारतलाई हराउँन सकेको छैन। भारतलाई हराउँदैँ इतिहास बदल्ने पाकिस्तानको योजना यस पटक पनि सफल हुन सकेन। समग्र एकदिवसीय क्रिकेटको भिडन्तमा भने भारत भन्दा बढी पाकिस्तान नै जितेको छ। –एजेन्सी