काठमाडौँ, ०२ असार। साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयक आवश्यक परे सच्याउन सरकार तयार रहेको प्रतिक्रिया दिए। तर, प्रधानमन्त्रीको आश्वासनको कुनै वास्ता नगरी आइतबार साँझ नै भक्तपुरमा मसाल जुलुस निस्कियो। असार ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन अझै स्थगित भएको छैन।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘हाम्रो कुनै पनि सांस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड, रीतिथितिसँग कुनै कुराले कँही अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर नजानेर परेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ नि।’
प्रधानमन्त्रीको यो भनाइले विधेयक विवाद चाँडो टुङ्गियोेस् भन्नेहरूलाई आशावादी बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामवीर मानन्धर भन्छन्, ‘प्रधानमन्त्रीज्यूले गुठी विधेयक सच्याउँछु भन्नुभएको छ, यो सकारात्मक कुरा हो।’ १६ बैशाखमा राष्ट्रियसभामा दर्ता भएको गुठीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा दिनहुँ जस्तो प्रदर्शन भइरहेको छ। उता विधेयकको पक्षमा पनि गत शुक्रबार दाङमा प्रदर्शन भएको थियो।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले असार ४ गते मण्डलामा सभा गर्ने पूर्वनिर्धारित कार्यक्रम छ। ‘लगातार प्रदर्शन गर्दा पनि सरकारले सुनुवाई नगरी उल्टै धरपकड गरेपछि बिशालसभा गर्न लागेका हौ’ संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘यसका लागि घर–घर, टोल–टोलमा बैठक बसिरहेका छौं।’