चितवन, ०१ असार। अत्यधिक गर्मी बढेपछि चितवनका स्थानीय तहहरूले तीन दिनका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। महानगरपालिकासहितका सबै स्थानीय तहहरूले सोमबारदेखि तीनदिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। अत्याधिक गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए।
वर्षे बिदाबाट मिलान हुने गरी तीनदिनको लागि विद्यालय बन्द गरिएको उनले बताए। जस्ताको छानोमुनि बसेर पढ्नै नसकिने गरी गर्मी बढेकोले आइतबार नगरपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकसहितको बैठक गरेरै तीनदिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको कालिका नगरपालिकाका मेयर खोमनारायण श्रेष्ठले जानकारी दिए।
छिमेकी जिल्ला नवलपुरको गैँडाकोट नगरपालिकाले पनि तीनदिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तर, आइतबार दिउँसोसम्ममा अत्याधिक गर्मी भए पनि साँझ पानी परेपछि भने केही राहत महसुस भएको छ।

























