चितवन । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सबै पूर्वधारमध्येको मुख्य पूर्वधार शिक्षा भएको बताएका छन्। भरतपुर १३ मा स्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै श्रेष्ठले शिक्षा क्षेत्रको विकासबिना अरू विकास ठीक दिशातिर लैजान नसक्ने बताए। शिक्षाबिना दीर्घ जीवी बनाउन नसक्ने पनि उनले बताए।
‘राज्यले पहिलो लगानी शिक्षामा गर्नुपर्छ । शिक्षामा गुणात्मक परिवर्तन गर्न यो सरकार प्रतिवद्ध छ,’ उनले भने। उनका अनुसार यो सरकार सामुदायिक विद्यालय र आंगिक क्याम्पसहरूको शिक्षालाई गुणस्तरीय बनाउन चाहेको छ। आफू सधैँ घुस, चाकडी र उपहारबाट टाढा रहने बताउँदै राजनीतिक परिवर्तनलाई सामाजिक तथा आर्थिक रूपान्तरणको निम्ति निस्वार्थ ढंगबाट अघि बढ्ने बताए।
हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको इतिहासको प्रंशसा गर्दै उउपप्रधानमन्त्री श्रेष्ठले सामुदायिक विद्यालयप्रति यो सरकार सधैँ रहेको बताए। विद्यालयमा आवश्यक भवन निर्माण, खेलकुद मैदानसँगै शैक्षिक उन्नततिका लागि सरकार र आफ्नो तर्फबाट सहयोग र उपयुक्त वातावरण बनाउने उनले प्रतिवद्धता जनाए।
२०३७ सालमा एउटा झुप्रोबाट सिकाइ सुरू गरेको यो विद्यालय शिक्षा मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा पाँच हजार सामुदायिक विद्यालयमा गरिएको कार्य सम्पादन मुल्याङ्कनको आधारमा ८५.३३ अंक प्राप्त गरी नेपालको ३० औँ र चितवनको प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालय हो।
विद्यालयका प्राचार्य भानुभक्त सुवेदीका अनुसार तत्कालीन गीतानगर गाविसको चम्पानगर, पृथ्वीनगर र उज्वलनगरका अभिभावकहरूले विद्यालयको महसुस गरेर विद्यालयको स्थापना भएको थियो। विद्यालयमा भौतिक संरचना विकासको लागि २०४४, २०५० र २०६७ सालमा गरी ३ पटक धान्यपर्वसमेत आयोजना गरिएको थियो। यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्न थालेपछि अहिले प्रवेश परीक्षा लिने गरिन्छ। अहिले करिब एक हजार विद्यार्थी यो विद्यालयमा अध्ययन गर्छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेका अनुसार शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयले अतिरिक्त र व्यावहारिक शिक्षाको प्रयास जारी छ। विद्यालयले अंग्रेजी माध्यमबाट पनि पढाउँदै आएको छ। निकट भविष्यमा नै विविए र विसिएको विषय सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।


























