चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अध्ययनकै लागि चितवन छाड्न नपर्ने बताएकी छन्। भरतपुर–१४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख दाहालले भरतपुर शिक्षा क्षेत्रमा धेरै अगाडि बढिसकेकोले अध्ययनकै लागि चितवनबाहिर जान नपर्ने दाबी गरेकी हुन्।
‘भरतपुरले शिक्षा क्षेत्रमा ठूलै फड्को मारिसकेको छ । त्यसैले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्त्य भइसकेको छ,’ उनले भनिन्। विगत पाँच वर्षमा सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी थप गर्न सफल भएको भन्दै यो क्रम बढ्दै गएको उनले बताइन्।
भरतपुरले सन्तुलित विकासको मोडलअनुसार शिक्षा क्षेत्रको विकासका लागि शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको उनले बताइन्। ‘प्रहरी स्कुलमा आर्कषण बढ्दो छ’, उनले भनिन्, ‘सुरूसुरूमा भरतपुरका विद्यार्थीमात्र यो विद्यालयमा अध्ययन गर्थे, अहिले जिल्लाभरकै विद्यार्थीले अध्ययन गर्छन्। यो निकै सकारात्मक पक्ष हो।’

भरतपुरमा दुई ठूला मेडिकल कलेज, रामपुर कृषि क्याम्पस, त्रिभुवन विश्वविद्यालयको आंगिक इन्जिनियरिङ क्याम्पसलगायतका शैक्षिक संस्थाले भरतपुरको गरिमा बढाएको उनको भनाइ छ।
वागमती प्रदेशका प्रहरी प्रमुख एवम् विद्यालयका संरक्षक दीपक थापाले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तीनै तहको सरकार र प्रहरी प्रधान कार्यालयसँग समवन्य अगाडि बढाउने बताए।
विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले विद्यालयले विद्यार्थीको उच्च आत्मबल, सिर्जनशील र प्रायोगात्मक शिक्षालाई जोड दिने गरेको उल्लेख गरे। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङको अध्यक्षतामा भएको थियो।


























