चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमै खाना महोत्सव तथा भेषभूषा प्रदर्शनी गरेको छ। यसअघि २०७६ सालमा पहिलोपटक कार्यक्रम गरेको विद्यालयले दोस्रोपटक यो कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीहरूमा पाक शिक्षाको व्यवहारिक ज्ञान तथा एकताको सूत्रमा बाँधिएको नेपाली समाजबारे जानकारी गराउन पनि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिए।
विद्यार्थी र अभिभावकहरूका बीचमा फरक खालको कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ। ‘सैद्धान्तिक ज्ञानसँगै व्यवहारमा आवश्यक पर्ने यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीमा व्यवहारिक ज्ञान आर्जन हुनेमा हामी विश्वस्त छौँ,’ विद्यालयका प्रधानाध्यापक अधिकारीले दाबी गरे। विद्यालयले गरेको लगानीमा विद्यार्थी आफैँले सामान खरिद गरेर महोत्सव सञ्चालन गरेका हुन्।
महोत्सवबाट भएको कारोबारमा साँवा विद्यालयलाई फिर्ता गराएर नाफा भने विद्यार्थीलाई हुने गरी महोत्सव आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डेले जानकारी दिए। उनका अनुसार विद्यार्थीले सेलरोटी, तरकारी, पकौडा, अचार, आलुचप, मःम, मासुका विभिन्न परिकार, चियालगायतका १६ प्रकारका खानाका परिकार प्रदर्शनीमा राखेका थिए।

दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म भएको कार्यक्रमबाट करिब ५० हजार रूपैयाँ बराबरको कारोबार भएको समेत विद्यालयले अनुमान गरेको छ। विद्यार्थीहरूलाई कर्णाली, महाकाली, कोशी र गण्डकी सदनमार्फत कार्यक्रममा सहभागी गराइएको थियो। तिनै विद्यार्थीले भेषभूषा प्रदर्शनीसमेत गरेका थिए। भेषभूषा प्रदर्शनीले भने विद्यार्थीलाई नेपाल एउटै फूलबारीको साझा चौतारीको रूपमा चिनाउने प्रयास गरिएको विद्यालयकी शिक्षिका एवम् महाकाली सदन समूहकी व्यवस्थापक प्रीति तामाङले जानकारी दिइन्।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.११ का वडा सदस्य सागर कुमाल (तारा) प्रमुख अतिथि रहेका थिए। साथै नयाँकिरण टोल विकास संस्थाकी अध्यक्ष चण्डिका रेग्मी, शिक्षक अभिभावक संघकी अध्यक्ष कृष्णकुमारी अधिकारीलगायतको पनि उपस्थिति थियो।



























