– रवीन्द्र काफ्ले
पाँचथर, १२ जेठ। आरुबोटे बजारबाट करिब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर। घरको माथिल्लोपट्टि कच्ची सडक। तीनकोठे घरको अघिल्तिर सानो भान्साघर। तलपट्टि बाख्रा र कुखुराको खोर। घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर। घरअघि दाउराको लामो थाक।
भान्सा घरभन्दा तल धुँवा आइरहेको, घर वरिपरि मानिसहरु बसेका। टाट्नोमा तीन वटा ठूलठूला खसी। भान्साघर छेवैमा थुपारिएका बाँसमाथि खसीतर्फ हेरेर बसेका थिए, बमप्रसाद साम्पाङ राई। साम्पाङले गत सोमबार आफ्ना साथी धनराज शेर्माको घरबाट खसी लैजाने तयारी गरेका थिए। तर, उनी समयमा आइपुग्न सकेनन्। त्यही सोमबार राति धनराजको पूरै परिवारको हत्या भयो। धनराज, साम्पाङका अत्यन्तै मिल्ने र पुरानो साथी थिए।
धनराजको घरमा सामथ्र्यविहीन भएर बसेका साम्पाङ केही भन्न चाहे पनि भन्न सकिरहेका थिएनन्। ‘जहिल्यै रवि आउँदा मलाई भेटेर मात्रै घर आउँथ्यो। कहिल्यै मलाई भेट्न छुटाएको याद छैन,’ साम्पाङले भने, ‘मेरो साथी जाँदा (हत्या हुँदा) मेरो मुटु चोइटिएको छ।’ चलचित्रमा देखेजस्तै गरि आफ्नो साथी गुमाउनुपर्दा मन स्थिर हुन नसकेको साम्पाङ बताउँछन्।
गत सोमबार राति सामूहिक हत्यामा मारिएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका धनराज शेर्मा स्थानीयवासीको आँखामा नबिझाउने व्यक्ति थिए। ‘ज्वाइँ त आँखामा नबिझाउने खालको हुनुहुन्थ्यो, हाम्रो समुदायमा उहाँजस्तो मेहनत गर्ने मान्छे अझैसम्म भेटेको छैन,’ स्थानीयवासी बजिन्द्रप्रसाद फियाकले सम्झिए, ‘यस्ता मान्छेलाई कुन बैरीले यतिसम्म ग¥यो होला?’
गतवर्ष मात्रै वैदेशिक रोजगारीबाट फर्केका शेर्मा गाउँमा सबैका प्रिय थिए। सासू–ससुराको हेरचाहकै लागि ससुराली गाउँमै घर बनाएर बसेका उनी मेहनतका साथ केही नयाँ काम गरौँ भन्ने चाहन्थे। नियमित आयको स्रोत नहुँदा साम्पाङसँग मिलेर उनी खसी, बाख्रा, कुखुरा बिक्री गर्थे। शेर्मा बाल्यकालदेखिका साथी थिए, छिमेकी पनि। शेर्मा विदेशमा रहँदासमेत आफूसँग नियमित सम्पर्क हुने गरेको साम्पाङ सम्झन्छन्। ‘साह्रै छिटो घुलमिल हुने मान्छे, चाहिँदा सहयोग पनि गरिहाल्ने। यत्ति बिघ्न नराम्रोसँग मारिने गरि कसैलाई केही गरे भनेर म त कल्पनासमेत गर्न सक्दिन,’ साम्पाङले सुनाए।
यो पनि पढ्नुहोस् :
धनराज र उनकी श्रीमती जस्मिताले बर्खाभरका लागि आठ बोरा चामलको जोहो गरेको देखाउँदै स्थानीय अगुवा बजिन्द्रप्रसादले भने, ‘यस्तो बुद्धिमानी मान्छे, कहिल्यै खाली नबस्ने।’ स्थानीय अगुवा तथा धनराजका आफन्तहरु धनराज र जस्मिताले बुनेका नयाँ मुढामा बसेका थिए। स्थानीय यामकुमारी फियाकका अनुसार शेर्मा परिवारले बेच्नलाई भनेर राम्राराम्रा मुढा बुनेका थिए। ढाका बुन्न सिकाउने जस्मिता आफैँ पनि ढाकाबाट घरव्यवहार चलाउने पैसा कमाउँथिन्। तर, विभत्स हत्यापछि यो मेहनती परिवार अब स्थानीयवासीको स्मृतिमा मात्रै सीमित भएको छ।
धनराज कुचो (अम्रिसो)को व्यापारसमेत गर्दथे। श्रीमती जस्मिताले ढाका बुन्न सिकाउने गरेको भुइँघरमा जम्मा गरेर बिक्री गर्दथे। ‘हामी सबैलाई छोडेर जान रहेछ, साह्रै दुःख गरेर सम्पत्ति कमाएको,’ धनराजकै घरमा भेटिएका उनका गाउँले दाइ दीपेन्द्रकुमार शेर्माले भने, ‘सधैँ दुःख र मेहनत गर्ने मान्छेमाथि म त औँला ठड्याउने ठाउँ पनि देख्दिनँ।’ धनराजको मेहनत देखेर सबै गाउँले चकित थिए। जस्मिता पनि उत्तिकै जाँगरिली थिइन्।
सोमबार राति शेर्मा दम्पतिसँगै उनीहरुका दुई छोरी १२ वर्षीया युहाना शेर्मा र १० वर्षीया मुना शेर्मा तथा धनराजका भाइकी छोरी ८ वर्षीया इक्सा शेर्माको विभत्स हत्या भएको थियो। धनराजका ससुरा ७४ वर्षीय बमबहादुर फियाक, सासू ७५ वर्षीया फुर्चिमाया फियाक, उनकी कान्छी साली २६ वर्षीया मनकुमारी फियाक (माखिम) र साइली, सालीकी छोरी १० वर्षीया आशिका खजुमको हत्या भएको थियो।
यो पनि पढ्नुहोस् :
हत्यामा शेर्माका कान्छा साढुभाइ मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरीको भनाइ छ। सामूहिक हत्यापछि मानबहादुरले समेत झुण्डिएर आत्महत्या गरेका थिए। प्रहरीले स्थलगतरुपमा हत्याको विस्तृत अनुसन्धान सम्पन्न गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत अनुसन्धानमा खटेको थियो। -रासस
यो पनि पढ्नुहोस् :
http://पाँचथर हत्याकाण्ड : स्थलगत अनुसन्धान जारी, शव परीक्षण सम्पन्न

























