राजविराज, १० जेठ। नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले वर्तमान सरकार जनताको हितमा रहेर काम गर्न नसकेको बताएका छन्। कांग्र्रेस क्षेत्रीय कार्यसमिति–४ द्वारा शुक्रबार सप्तरीको रुपनी गाउँपालिकास्थित कटैयामा आयोजना गरिएको जागरण अभियानमा बोल्दै नेता निधिले वर्तमान सरकारले मधेश र पहाड दुवै क्षेत्रका लागि केही गर्न नसकेको आरोप लगाएका हुन्।
‘मधेश, तराई, पहाड र हिमालका जनताको सुखदुःख बुझ्ने एकमात्र पार्टी कांग्रेस हो,’ उनले भने, ‘पछिल्लो चुनावमा पराजय ब्यहोर्नुपरेको बदला कांग्र्रेसले अब आउने चुनावमा लिनुपर्छ।’ कांग्र्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कांग्र्रेसले नै मधेशको मागअनुसार संविधान संशोधन गर्नुपर्नेमा जोड दिइएको बताइन्। यस्तै कांग्रेस नेता महेन्द्र यादवले आफूलाई मधेशवादी भन्ने दलहरु सत्तामा जान मात्र राजनीति गरिरहेको आरोप लगाए। -रासस