नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। लोकसभा निर्वाचनमा स्पष्ट बहुमत हात पारेसँगै मोदी राजीनामा पत्र लिएर राष्ट्रपति रामनाथ काेविन्दलाई भेट्न राष्ट्रपति निवासमा पुगेका थिए।
मोदीले सम्पूर्ण मन्त्रिपरिषद्कै एकमुष्ट राजीनामा पत्र राष्ट्रपति समक्ष पेस गरेका थिए। राष्ट्रपति कोविन्दले सो राजीनामालाई सदर गरेका छन्। भेटका क्रममा राष्ट्रपतिले मोदीलाई नयाँ मन्त्रिपरिषद् गठन नहुँदा सम्म हालकै मन्त्रिपरिषद्ले काम गर्न निर्देशन दिएका थिए। मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले ३ सय ३ सिटमा जित हात पार्दै पहिलो पार्टी बनेको हो।
बिहीबार र शुक्रबार गरी भएको मतगणनाको नतिजाले कुल ५ सय ४२ सिटमध्ये भाजपाले स्पष्ट बहुमत प्राप्त गरेको देखाएको छ। अब ५ वर्षका लागि पुनः भाजपाकै नेतृत्वमा नयाँ सरकार बन्नेछ।