बाँके, १० जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीति सम्भव नरहेको बताएका छन्। शुक्रबार नेकपाको जिल्ला कमिटीका सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अब सम्भव छैन।’
‘विप्लव’ नेतृत्वको नेतालाई हतियारको राजनीति छाडेर वार्तामा आउन पनि उनले आग्रह गरे। उनले भने, ‘हत्या, हिंसा र चन्दा आतङ्कले जनतालाई तर्साउन पाइँदैन, वार्तामा आउनुस्, एक ढिक्का भएर अघि बढ्ने प्रयत्न गर्नुस्, हतियारले तपाईंहरुको राजनीति चल्दैन।’
नेता नेपालले जिल्ला तहका नेताहप्रति लक्षित हुँदै कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे। नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोडिएर अघि बढ्नसमेत उनले आग्रह गरे। नेता नेपालले शुक्रबार जिल्ला कमिटीका १५५ सदस्यलाई पद तथा गोपनियताको शपथग्रहण गराएका थिए।