काभ्रेपलाञ्चोक, ०९ जेठ। मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला अदालत धुलिखेलले पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश दुर्गा खड्काको एकल इजलासले सरिताका श्रीमान् सुदीप, ससुरा पीताम्बर, सासू गङ्गा, जेठाजु केशव र जेठानी सङ्गितालाई हत्यामा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले गत मङ्गलबार सरिताको हत्यामा संलग्न भएको आरोपमा पाँचै जनाविरूद्ध कर्तव्य ज्यान महलअन्तर्गतको अभियोजन अदालतमा दर्ता गरेको थियो। अदालतले प्रहरीको अनुसन्धान, आरोपितको बयान तथा सबुद–प्रमाणका आधारमा सरिताको हत्यामा पारिवारिक संलग्नता देखिएको जनाउँदै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
गत वैशाख १३ गते सरिता घाँटीमा निलडाम भएको अवस्थामा घरमा मृत फेला परेकी थिइन्। मृतकका दाजु मण्डन देउपुर–४ चैनपुरका कृष्णप्रसाद दाहालले परिवारका पाँज जनाविरूद्ध जिल्ला प्रहरी कर्यालयमा किटानी जाहेरी दिएका थिए। प्र हरीले सोही आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। उनका श्रीमान् सुदीपले प्रहरीसँगको बयानमा सरिताको हत्या गरेको स्वीकार गरेका थिए। –रासस

























