चितवन, ०७ जेठ। चितवनको राप्ती नगरपालिकाले विद्यार्थीलाई नियमित गराउन छात्राबास सञ्चालन गरेको छ। नगरपालिकाले नगरका दुई विद्यालयबाट छात्राबासको सुरूवात गरेको हो। वडा नं ११ को थाकलटार मावि र वडा नं १२ को यौरालीटारमा छात्राबास सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा अधिकृत हुमाकान्त अधिकारीले जानकारी दिए। उनका अनुसार थाकलटार माविको छात्राबास सञ्चालनमा आइसकेको छ भने यौरालीटारमा भवन निर्माण अन्तिम चरणमा छ।
भौगोलिक विकटताका कारण विद्यालय आउन समस्या हुने विद्यार्थीलाई लक्षित गरि छात्राबास सञ्चालनमा ल्याइएको उनको भनाइ छ। माध्यमिक तहका विद्यार्थी दुई÷तीन घण्टा लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेकाले विद्यार्थीलाई नियमित गराउनको लागि छात्राबास सञ्चालन गरिएको उनले बताए। ‘सुरूवातमा दुई विद्यालयमा छात्राबास सुरू गरेका छौँ,’ उनले भने, ‘आवश्यकता र प्रभावकारिताको आधारमा यसलाई थप गर्दै लैजाने नगरपालिकाको योजना छ।’
छात्राबासमा सुत्ने, खाना पकाउने ग्यास र भाँडाकुँडाको मात्रै व्यवस्था नगरपालिकाले गरेको छ। खानेकुरा विद्यार्थीले आफैँ घरबाट ल्याउनुपर्नेछ। वडा नं १३ को कान्दामा पनि लक्ष्मी प्रतिष्ठानले छात्राबास सञ्चालनमा ल्याएको छ। कान्दामा सबै चेपाङ बालबालिका अध्ययन गर्छन् भने थाकलटार र यौरालीटारमा अधिकांश चेपाङ र जनजाति समुदायका विद्यार्थी अध्ययन गर्छन्।
यौरालीटारको गणेश माविको छात्राबास भवन निर्माण यही महिनाभित्रै निर्माण सम्पन्न हुने प्रधानाध्यापक रामकृष्ण प्रजाले जानकारी दिए। असारपछि छात्राबास सञ्चालन गर्ने गरि तयारी गरिएको उनले बताए। शान्तिगृह नेपालले ४९ लाख ६२ हजार रूपैयाँ लागतमा छात्राबास भवन निर्माण गरिदिएको हो। त्यसको व्यवस्थापन भने नगरपालिकाले गर्नेछ।
‘छात्राबासमा ५० विद्यार्थी राख्ने योजना छ,’ विद्यालयका प्रधानाध्यापक प्रजाले भने, ‘यसले विद्यालयको शैक्षिक अवस्था सुधार हुने आशा राखेका छौँ।’ गणेश माविमा राप्ती नगरपालिकाको वडा नं ७, ११, १२, १३ र मकवानपुरको राक्सिराङबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। स्कूल आउन जान दैनिक चार÷पाँच घण्टा हिँड्नुपर्ने भएपछि माध्यमिक तहका धेरै विद्यार्थी नियमित विद्यालय आउन नसकेको प्रअ प्रजाले बताए।
माध्यमिक तहका विद्यार्थी दुई/तीन घण्टा लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेकाले विद्यार्थीलाई नियमित गराउनको लागि छात्राबास सञ्चालन गरिएको हो।
थाकलटार माविका प्रधानाध्यापक सोमबहादुर लामाले भने छात्राबासमा सात विद्यार्थी नियमित बस्दै आएका बताए। ‘निकै टाढाका विद्यार्थी मात्रै यहाँ बस्ने गरेका छन्,’ उनले भने, ‘अन्य विद्यार्थी पनि ट्युसन, कोचिङ सुरू भएपछि छात्राबासमै बस्छन्।’ विद्यालयमा ४२२ विद्यार्थी अध्ययनरत छन्। बस्ने व्यवस्था भए पनि खानेकुराको प्रबन्ध नहुँदा समस्या हुने गरेको उनले बताए। राप्ती नगरपालिकामा प्रावि, निमावि र मावि गरेर ५० विद्यालय छन्। -रासस