– सुशीला रेग्मी
मुक्तिनाथदेखि प्राकृतिक बहावमा बगिरहेको कालीगण्डकीको महिमा अपार छ। शालिग्राम पाइने नदीका नामले समेत परिचित कालीगण्डकीका किनारमा मुक्तिनाथ, ऋषिकेश, देवघाटधाम जस्ता तीर्थस्थल हुनुले यसको महिमा र गरिमा उत्तिकै बढाएको हो।
पूर्वीय संस्कृति र सभ्यतासँग प्रत्यक्ष जोडिएको यहाँको जल अर्थात् पानीलाई आर्थिक र सामाजिक विकासमा उपयोग गर्ने सोचका साथ तल्लो तटीय क्षेत्रका बासिन्दा यतिखेर जुर्मुराउन थालेका छन्। हुन त कालीगण्डकीमा बगेको पानीलाई सदुपयोग गर्न राम्दीबाट डाइभर्सन गरेर तराई क्षेत्र र भारत लैजाने योजनाको अध्ययन भइरहेको छ।
आफ्नै बहावमा बहेको नदीको पानीलाई अन्यत्र मोडेर लैजान नहुने भन्दै स्थानीयवासी धार्मिक मान्यताको जगेर्नाका साथै आर्थिक समृद्धिका निम्ति एकतावद्ध भएका छन्। पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा डाइभर्सन गरेर कालीगण्डकीको पानी तिनाउ नदीमा खसाल्ने योजनाप्रति कालीगण्डकी उपत्यकाका बासिन्दा सन्तुष्ट छैनन्। रूपन्देही, कपिलवस्तु र नवलपरासीको विभिन्न भू–भाग सिँचाई गर्ने योजना अनुरूप नदीलाई राम्दीबाट डाइभर्सन गरेर तिनाउ खोलासँग जोड्ने योजनाप्रति उनीहरूको आपत्ति छ।
नदी डाइभर्सनका काम सुरू भएको समयदेखि नै कालीगण्डकी बेसिन पाल्पा, स्याङ्जा, तनहुँका तल्लो तटीय क्षेत्रका स्थानीयले नदीको धार्मिक, साँस्कृतिक अस्तित्व मेटिने तर्क गर्दै आएका छन्। संरक्षणप्रति जागरूक भएसँगै विभिन्न साहित्यिक रचना पनि बाहिर आएका छन्।
‘कुइरोको खेती, रामपुरे बेंसी, सुकेर चरचरी
बालै र बच्चा, हुन्छन् है सच्चा, रून्छन् नि धरधरी
नलैजाउ कालीलाई .. बिजुली पानी ………
के गर्ने होला, के छर्ने होला, काली नै नभ’सी
के खाने होला, काँ जाने होला, रामपुरै नब’सी
नलैजाउ कालीलाई .. बिजुली पानी ………’
कालीगण्डकीलाई राम्दीबाटै बटौली लैजान अध्ययन अनुसन्धानका काम बढेपछि तत्कालीन कृष्णागण्डकी क्षेत्र विकास समितिका अध्यक्ष कुलराज चालिसेको नेतृत्वमा राम्दीधाममा वि.सं. २०७१ मा बेलपत्र आन्दोलन रचना गरेर प्रतिरोधमा उत्रँदाका बखत रचना गरिएको कविता हो यो। गण्डकी बेंसीका नागरिकको आवाजलाई स्थानीयदेखि प्रादेशिक तहमा चुनिएका जनप्रतिनिधिले एकीकृतरूपमा सम्बोधन र सम्मान गर्दै राम्दीदेखि देवघाटसम्मका क्षेत्रलाई कालीगण्डकी उपत्यकाको नामकरण गर्दै एकीकृत विकास समिति पनि गठन गरिएको छ।
त्यस्तै, रामपुर घोषणापत्र जारी गरी कालीगण्डकी बचाउन, पर्यटन प्रवद्र्धन गर्न र समृद्धि हासिल गर्न पनि जोड दिइएको छ।
‘मरेपछि लानु चै के छ र (२), कृष्ण कृष्णा अलग नगर, रामदीमा बाँधै हालेर
खस्यौली र बटौली बगाउलान् सिद्धबाबा हामै फालेर
देउता पितृ रिसाउलान् हे सानु (२), कृष्णामाता जलदेवी हुन अरे, आएकी छन् हिमाल गालेर
खस्यौली र बटौली बगाउलान् सिद्धबाबा हामै फालेर
रामपुरेनी बस्दैनन् त्यसै (२) मणीवुटी हराको नागझै, आउन सक्छन् मसाल बालेर
खस्यौली र बटौली बगाउलान् सिद्धबाबा हामै फालेर’
कृष्णागण्डकीका नामले परिचित कालीगण्डकी किनारमा जलेश्वर, गलेश्वर, नाङ्गलीवाङ्ग, मोदीवेणी, सेतीवेणी, रूद्रवेणी, रिडी, राम्दी, हुँगीघाट, खोरियाघाट, रामघाट, केलादीघाट, देवघाटजस्ता स्थानमा हजारौंको संख्यामा कुटीसमेत रहेका छन्।
नदी डाइभर्सन गरिँदा तल्लो भेगका उर्बर भूमि बाँझिने र यसले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पार्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउाछन्। ‘नदीको बहाव परिवर्तन गरी राम्दीबाट डाइभर्सन गरेर अन्यत्र लैजाँदा तल्लो तटीय क्षेत्र मरूभूमि जस्तै बन्छ,’ उनी भन्छन्, ‘यसले यहाँको धार्मिक, साँस्कृतिक र पर्यटकीय गरिमा खल्बल्याउने हुँदा संरक्षणमा स्थानीय, प्रदेश र संघीय सरकार कालीगण्डकी बचाऊ अभियानमा एकजुट भएर लाग्न आवश्यक छ।’
कालीगण्डकीको अस्तित्व र महत्वलाई जोगाउँदै यसको पर्यटन विकास गर्न र नदी बचाउनकै लागि नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म दुईदिन रामपुर नगरपालिकाको आयोजनामा कालीगण्डकीमा जलयात्रा महोत्सवसमेत गरिएको थियो।
नदीको अस्तित्व र गरिमालाई जोगाई राख्न विशेषतः कालीगण्डकी बेसिन पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका र तनहुँको घिरिङ गाउँपालिका, नवलपुरको बौदिकाली गाउँपालिकालगायतका स्थानीय सरकारले ऐक्यवद्धता जनाउँदै संरक्षणमा जुटिरहेका छन्।
कालीगण्डकीको पानी डाइभर्सन गरेर लगिएको खण्डमा तल्लो भाग मरूभूमि जस्तै उजाड बन्ने, वातावरणीय सन्तुलन बिग्रने र धार्मिक तथा साँस्कृतिक अस्तित्व नै मेटिन खतरा रहन्छ। प्रदेश नं ५ र गण्डकी प्रदेशको भविष्य कालीगण्डकीसँग प्रत्यक्ष जोडिएको बताउने प्रदेश नं ५ का सांसद युवराज खनाल नदीलाई डाइभर्सन गरेर अन्यत्र लैजान नहुने बताउँछन्।
नदीको पानी उपयोग गरी आयस्रोत बढाउने खालका योजना बनाएर अगाडि बढ्न आवश्यक भएको उउनी बताउँछन्। कालीगण्डकीमा पारिवारिक घुमघाम र धार्मिक पर्यटनका लागि जलयात्रा अति उत्तम मानिन्छ। कर्णाली प्रदेशमा भएको तेस्रो नदी शिखर सम्मेलनले पनि अबको दुई वर्षभित्र कालीगण्डकीमा चौथो नदी महोत्सव आयोजना गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै यहाँ नियमित जलयात्रा सञ्चालन गर्न सकिए रोजगारी सिर्जना हुने स्थानीयवासीको तर्क छ। नदी डाइभर्सन हुनुभन्दा पहिला सम्बन्धित क्षेत्रमा भविष्यमा कस्तो असर आइपर्न सक्छ भनेर मात्र अध्ययन हुनु आवश्यक रहेको नेपाल सरकारका पूर्व सचिव तथा कालीगण्डकी उपत्यका विकास अभियन्ता शान्तबहादुर श्रेष्ठले बताए।
‘भौगोलिक हिसाबले भिन्न प्रदेशमा विभाजन गरे पनि नदीसँग जोडिएका वारिपारिका गाउँ बस्तीको रहनसहन, सांस्कृतिक चालचलन एकै प्रकारको रहेकाले पनि नदीको पानी उपयोग गरेर प्रशस्त आम्दानी लिने गरी पर्यटन विकासमा जोड दिन आवश्यक छ,’ उनले थपे। यस नदीमा नियमित जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन सकिने प्रसस्त सम्भावना रहेको पर्यटन व्यवसायी दीपक रोका बताउँछन्।
‘राम्दीदेखि देवघाट क्षेत्रका विभिन्न भू–भागमा जलयात्रा नियमित गरेमा पर्याप्त रोजगारीका साथै मनग्य आम्दानी गर्न सकिन्छ,’ उनले भने। जलयात्राका लागि परीक्षणपछि बृहत् कालीगण्डकी जलयात्रा महोत्सवसमेत सम्पन्न भइसकेको छ। कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित र्याफ्टिङ चलाउन कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञसहितको टोलीले तीन खण्डमा कालीगण्डकीमा यसभन्दा अगाडि नै सफल परीक्षण गरिसकेका छन्।
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्यसँग मेल खाने गरी पर्यटन प्रवद्र्धन गर्न र कालीगण्डकीको गरिमा बचाउन तल्लो तटीय क्षेत्रका बासिन्दाको जागरण र प्रयास सराहनीय छ। –रासस