काठमाडौँ, ०३ जेठ। नेपालमा बेलाबेला विपद् आइरहे पनि यसको पूर्वतयारीमा सरकार उदासिन बनेको छ। राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण र मानव अधिकार’ विषयक अन्तक्र्रियामा आयोगका कार्यबहाक अध्यक्ष प्रकाश वस्तीले नेपालमा भौगोलिक अवस्थाअनुसार फरक मौसममा फरक खालका प्राकृतिक प्रकोप हुने गरे पनि त्यसका न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको नदेखिएको बताए।
‘आयोगले भूकम्प, महामारी रोग, बाढी पहिरोलगायत घटनाको स्थलगत अध्ययन गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ,’ उनले भने, ‘तर, त्यसको उचित सुनुवाई भने हुन सकेको छैन। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा सुधारात्मक व्यवस्था भए पनि पर्याप्त हुन नसक्दा नागरिकले विपद्का समयमा मानव अधिकारको प्रत्याभूति गर्न नपाएको आयोगले जनाएको छ। नेपाल विश्वमा विपद् जोखिमको सन्दर्भमा सडक दुर्घटनामा ५० औँ, बाढी पहिरो ३० औँ र भूकम्पमा ११ औँ जोखिमको अवस्थामा रहेको छ। –रासस