हेटौंडा । वागमती प्रदेश सरकारले ३४ कानुन संशोधन गर्ने प्रस्ताव गरेको छ। शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले ३४ कानुन संशाेधन गर्ने गरी प्रस्ताव पेस गरेका हुन्। मन्त्री जमरकट्टेलले प्रचलित तथा तर्जुमा भएका कानुनहरुलाई समसमायिक सुधार गर्ने भन्दै संशोधनको प्रस्ताव गरेका हुन्। उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ।
संशोधन विधेयकको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरुले विरोध गरेका थिए। यस्तै शुक्रबार नै वागमती प्रदेशसभाको बैठकमा ४ वटा नयाँ विधेयक पेस भएका छन्। वातावरण संरक्षण सम्बन्धी विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको नयाँ विधेयक प्रदेशसभा पेस भएको हो।


























