हेटौंडा । वागमती प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले प्रदेशमा पछिल्लो समयमा भएको बाढी पहिरोको कारण भएको क्षतिको जानकारी गराएका छन्। सभामुख सानुकुमार श्रेष्ठसँग शुक्रबारको वैठकमा सार्वजनिक महत्त्वको लागि जरुरी भएकाे भन्दै समय माग गरेर उनले संसदमा जनधनको क्षतिबारे जानकारी गराएका हुन्। मन्त्री जमरकट्टेलका अनुसार वागमती प्रदेशमा गएको असार २५ गतेपछि बाढी र पहिरोको कारण ५ जनाको मृत्यु, १२ जना घाइते तथा २३ जना बेपत्ता रहेका छन्।
प्रहरी र प्रशासनको रिर्पोटअनुसार वागमती प्रदेशमा बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बढी क्षती पुर्याएको मन्त्री जमरकट्टेलले बताए। असार २५ को भारी वर्षको कारण बाह्रिबसेमा हालसम्म ३ जना मृत्यु भएको छ भने ११ जना घाइते तथा २० जना बेपत्ता रहेका छन्।
त्यस्तै साउन १ गते भोटेकोशीमा गएको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको र ३ जना अझै बेपत्ता रहेको मन्त्री जमरकट्टेलले जानकारी दिए। यस्तै प्रहरी र प्रशासनको रिर्पोटमा नआएको तर अपुष्ट जानकारी आएकोमा हालसम्म चितवनमा २ को मृत्यु, धादिङमा १ जनालाई खोलाले बागाएर मृत्यु भएको, काभ्रे र नुवकोटमा पनि खोलाले बगाएर १/१ जना बेपत्ता भएको उनले बताए।
बाढी पीडितकाे घर प्रदेश सरकारले बनाइदिने
सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गर्ने भएको छ। स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने वागमती विपद व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो। सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई पनि तत्काल राहत उपलब्ध गराउने भएको छ। समितिका अध्यक्ष प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो।
समितिले बारबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए। सो रकमबाट स्थानीय तहले कार्यविधि अनुसार राहत, घाइतेको उपचार, पुनर्स्थापना लगायतका काम गर्न सक्नेछ। यस्तै यसअघि प्रदेश सरकारले निर्णय गरेको मृतकका परिवारलाई राहत रकम १ लाख रुपैयाँ पनि तत्काल उपलब्ध गराइने समितिले जनाएको छ। आइतबारसम्म राहत रकम स्थानीय तहमा पठाइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
शुक्रबार नै बसेको समितिको बैठकले समितिमा ३ जना प्रदेश सभा सदस्यलाई मनोनित गरिएको छ। समितिका सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा र ईन्द्रमाया गुरुङलाई मनोनित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकाराम जमरकट्टेलले जानकारी दिए। बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता ईन्द्र बानियाँलगायतको उपस्थिति थियो।


























