हेटौँडा । ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समति मकवानपुरले चालु आर्थिक वर्षमा जिल्लाका स्थानीय तहहरुमा भएका नदीजन्य पदार्थको ठेक्का बन्दोवस्ती एवम् राजस्व संकलनको विवरण माग गर्ने निर्णय गरेको छ। अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा भएका उत्खनन्, ठेक्का बन्दोबस्ती तथा राजस्व संकलन सम्बन्धी विवरण माग गर्ने निर्णय गरेको हो।
चालु आर्थिक वर्षमा स्थानीय तहमा उत्खनन् भएको नदीजन्य पदार्थको परिमाण, राजस्व संकलनको विवरण आगामी आर्थिक वर्षमा ठेक्का बन्दाबस्तीमा आवयक पर्ने साथै नदीजन्य पदार्थको व्यवस्थापनमा सहयोग पुग्ने हुनाले सोको विवरण माग गर्ने निर्णय गरेको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिए। बैठकले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका नदीजन्य पदार्थको मौजदात प्रमाणीकरणका लागि प्रमाणीकरण समिति गठन गर्नुका साथै नदीजन्य पदार्थको मौज्दात नापजाँचका लागि प्रमाणीकरण समितिलाई सहयोग गर्ने गरी छुट्टै तीन सदस्य उपसमितिसमेत गठन गरेको छ।
स्रोतबिनाको नदीजन्य सामग्री ढुंगा, गिट्टी, बालुवाको मौज्दात प्रमाणीकरणका लागि मापदण्ड बनाएर काम गर्ने निर्णय गरेको उनले बताए। मौज्दात प्रमाणीकरणसम्बन्धी स्वीकृत ढाँचाअनुसार काम भए÷नभएको विषयमा समेत विवरण माग गर्ने निर्णय गरेको उनले बताए। त्यस्तै बैठकले स्थानीय तहले नदीजन्य पदार्थको उत्खनन् गर्ने क्रममा गरेको वातावरणीय प्रभाव मुल्याङ्कनअनुसार काम गरे नगरेको, वातावरण संरक्षण कोष स्थापना गरे÷नगरेको र इएमपीको विवरण माग गर्ने निर्णय गरेको उनको भनाइ छ। जिल्लाको ईन्द्रसरोवरमा भएको उत्खननका विषयमा सम्बन्धित स्थानीय तहबाट रिपोर्ट माग गरेर थप निर्णय गर्ने तथा गढी गाउँपालिकाको समस्याका विषयमा जिल्ला विपद व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको उनले बताए।
बैठकमा जिल्ला समन्व्य समिति उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरु, मकवानपुरका प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधिलगायत समितिका सदस्यहरुको सहभागिता थियो।


























