सिड्नी, ०२ जेठ। अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ। देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए। उनले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रूपान्तरणको नमूना स्थापित गरेको बताइन्छ।
‘आज हामीले बव हकलाई गुमाएका छौँ, उहाँ एक जना महान् अष्ट्रेलियाली नागरिक हुनुहुन्थ्यो, धेरैले उहाँको समय अत्यन्त महत्वपूर्ण भएको बताएका छन्,’ हकपत्नी ब्लान्च डि अल्पुगेटद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘बव हक र पउल किटिङको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकिरण गरेका थिए, उहाँको कार्यकालमा आर्थिक स्वतन्क्रता र रोजगारी बढेको थियो।’ संघीय निर्वाचनको दुई दिन अगाडि उनको निधन भएको हो। लेबर पार्टीका नेता बिल सर्टनले हकलाई पार्टीको सवैभन्दा ठूलो छोराको रुपमा व्याख्या गरे। -रासस


























