हेटौंडा । चालु आर्थिक वर्षमा वागमती प्रदेशसभाको शुक्रबार बसेको पहिलो बैठकमा ४ वटा विधेयक छलफलको लागि प्रदेशका चार जना मन्त्रीहरुले प्रस्ताव पेश गरेका छन्। बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशमा निर्माण भएका मध्ये प्रचलित ३४ ऐनहरुलाई समसामयिक संशोधन गर्नुपर्ने भएकोले तर्जुमा भएको विधेयक संशोधन गर्ने प्रस्ताव पेश गरेका थिए। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरे।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश आर्थिक कार्यविधि ऐन-२०७४ लाई संशोधन गर्न बनेको विधेयक सभा पेश गरेका थिए भने भौतिक विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेशमा सार्वजनिक सडक तथा परिवहन पूर्वाधार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेका थिए। बैठकमा विधेयकको सैद्धान्तिक पक्षको मात्रै छलफल गरिएको छ। सैद्धान्तिक पक्षमा छलफलमा सत्तापक्ष र प्रतिपक्षका दुवै सांसदहरुले बोलेका छन्।
बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री जमरकट्टेलले विधेयकको सैद्धान्तिक पक्षमा सदस्यहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै वागमती प्रदेश सरकारले केही ऐन संशोधन गर्न एकीकृत रुपमा ३४ वटा ऐनको विभिन्न दफाहरुलाई संशोधन गर्न आवश्यक भएकोले विधेयक प्रस्तुत गरिएको जानकारी दिए। भौतिक विकास मन्त्री फुयाँलले प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लालाई हरित नगरी एवम् पूर्वाधार विकासको लागि सडक सञ्जालको निर्माणको क्रममा जेष्ठ नागरिक, अपाङ्ता, बालमैत्री बनाउनेतर्फ लक्षित रहेको बताए।
यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति, कार्यक्रम र बजेटलाई एक वर्षभित्रै प्रदेशको १३ वटै जिल्लामा कार्यान्वयन गर्ने पक्षमा रहेको बताए। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सांसदहरुको प्रश्नको जवाफ दिँदै वागमती प्रदेश सरकारले प्रदेशको जिल्लाहरुमा वातावरण संरक्षणको लागि समयानुकुल ऐन तर्जुमा गरी बाल, अनाथ, जेष्ठ नागरिक र अपाङ्गहरुलाई वातावरण मैत्री बनाएर लाने सरकारको नीति रहेको जानकारी गराए।


























