चितवन, २६ बैशाख। कुनै समय नेपाली समाजमा छोरी मान्छेले काजकिरिया गर्न हुन्न भन्ने चलन थियो । तर, अहिले समय फेरिएको छ । जसले गर्दा छोरा सरह छोरीले पनि काजकिरिया गर्ने प्रचलन बढ्दै गएको छ । यही बैशाख १७ गते नारायणगढ चमेलीपथ निवासी ४५ वर्षिय दुर्गा श्रेष्ठको निधन भएपछि अहिले छोरी अनुजा किरियामा बसेकी छिन् ।
‘छोरी हुँदाहुँदै अरूलाई किन लगाउने ?’ १९ वर्षिय अनुजा भन्छिन्, ‘आफ्नो बाबाको किरिया गर्न म आफैँ सक्छु भनेर बसेकी हुँ ।’ प्रेसिडेन्सी कलेजमा बीबीए चौथो सेमेस्टरमा अध्ययनरत अनुजाले समाजमा सकारात्मक सन्देश दिन पनि बुबाको किरियामा बसेको बताइन् । ‘बुबा र भाइले पनि आफैँ किरिया बस्न खोज्नुभएको थियो,’ आमा शर्मिलाले भनिन्, ‘तर, छोरीले म आफैँ बस्छु भनेपछि परिवारबाट पनि रोकतोक भएन ।’
सबैभन्दा पहिले आफैँभित्र चाहना हुनुपर्ने उनी बताउँछिन् । ‘छोरा नहुँदा छोरी नै छोरा हो नि,’ उनी भन्छिन्, ‘त्यही बुबाको किरिया छोराले गर्न हुँदा छोरीले किन नहुने भन्ने कुरा हो । त्यसैले छोरीले पनि छोरा सरह कर्तव्य निभाउन सक्छे भन्ने उदाहरण हो यो ।’ श्रेष्ठको उच्च रक्तचापका कारण निधन भएको हो ।