चितवन, २६ बैशाख। माडी नगरपालिका ७ किर्तनपुरका विनोद रानाभाटको उद्धारको लागि परिवारले सहयोगको अपिल गरेको छ। वैदेशिक रोजगारको लागि करिब तीन वर्षअघि खाडी मुलुक कतार पुगेका रानाभाट ज्यान मारेको अभियोगमा थुनामा परेका परिवारले जनाएको छ। छोराको ज्यान बचाइदिन अपिल गर्दै बुबा ढाकामोहन रानाभाटले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर सहयोगको याचना गरेका छन्। भारतीय कामदारले आफूमाथि आक्रमण गरेको र प्रतिकार गर्ने क्रममा अर्का भारतीय कामदारको मृत्यु भएपछि उनी जेल परेको बुबा ढाकामोहनले जानकारी दिए।
रानाभाटलाई कतार प्रहरीले ओक्रा जेलमा राखी मुद्धा चलाएको छ। पीडित पक्षले ब्लड मनिस्वरुप दुई लाख ६० हजार कतारी रियल (करिब ८२ लाख रुपैयाँ नेपाली) माग गरेकोले उक्त रकम भराउने क्षमता परिवारमा नरहेको हुँदा सहयोगको अपिल गरिएको परिवारले जनाएको छ। उनका अनुसार ५ महिनाभित्र उक्त रकम बुझाइसक्नुपर्ने भएकोले जतिसक्दो चाँडो रकम संकलन गरेर पठाउन सके छोरा सकुसल नेपाल फर्कनेछन्। सहयोगको लागि कृषि विकास बैंक लि. माडी शाखामा ‘विनोद रानाभाट रिहाई तथा उद्धार समिति’को नाममा खातासमेत खोलिएको छ।
सहयोग गर्न चाहनेले उक्त शाखाको खाता नं. ०५०८८०१३३७०९४०१३ मा रकम जम्मा गर्न सक्नेछन्। यस्तै देशभरको कृषि विकास बैंक लि.बाट रकम जम्मा गर्न सकिनेछ। व्यक्तिलाई नै भेटेर सहयोग गर्न चाहनेहरुको लागि भने ९८४५२०१४४२, ९८४५३४५१३४ तथा ९८४५३६८९७० मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।