चितवन, २४ बैशाख। भरतपुर खानेपानी कार्यालयले भरतपुर महानगरपालिकाको वडा नं. ११ स्थित जखडी माइबाट बोरिङ खनेर निकालिएको खानेपानीको पाइप शौचालयको सेफ्टी ट्याङ्कीबाट छिराएर खानेपानी ट्याङ्कीसम्म पुर्याइएको छ। बोरिङबाट पाइप बिच्छ्याउँदै गणेशस्थानस्थित इन्दिरा पाठकको घरमा शौचालयको सेफ्टी ट्याङ्कीबाट खानेपानीको पाइप छिराएर लगेको हो।
स्थानीयले नमान्दा नमान्दै पनि वडाअध्यक्षले जबरजस्ती खानेपानीको पाइप सेफ्टी ट्याङ्की नै फुटाएर लगेको स्थानीयको भनाइ छ। उक्त सेफ्टी ट्याङ्की अहिले पनि प्रयोग भइरहेको छ। खानेपानीको पाइप पनि शौचालयको सेफ्टी ट्याङबाट किन लैजाने भन्दा केही हुँदैन भन्दै जबरजस्ती घर भत्काएर सेफ्टी ट्याङ्कीबाटै पाइप लगेको पाठकले बताइन् । ‘खानेपानी जस्तो चिजलाई खेलाँची गर्न हुन्न भन्दा पनि वास्ता भएन,’ उनले भनिन्, ‘नक्साको बाटोबाट लैजानुपर्ने पाइप पनि घरै भत्काएर शौचालयको ट्याङ्कीभित्रबाट लगेको छ । जनप्रतिनिधिले नै यस्तो काम गरेपछि जनताले कसरी बुझ्ने ?’ घरै भत्काउनुपर्ने भए पनि सेफ्टी ट्याङ्कीको व्यवस्थापन गर्ने समयसमेत नदिइएको उनको भनाइ छ । ‘हामीलाई जानकारी नै नगराइकन घर फुटाएर सेफ्टी ट्याङ्कीबाटै खानेपानीको पाइप छिराएर लग्यो,’ उनले भनिन् ।
उक्त बाटो गणेशस्थान टोल विकास संस्था र सिद्धार्थ टोल विकास संस्थाको बीचमा पर्छ । सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष नारायण श्रेष्ठ भने स्थानीयको राजीखुसीमै काम सुरू गरेको दावी गरे । ‘स्थानीयको सहमतिबिना वडाले काम गर्नै सक्दैन,’ उनले भने, ‘यो काम यही आर्थिक वर्षभित्रमा सकिनेछ ।’ बाइपास रोडको जलदेवी मन्दिर चोकदेखि गणेशस्थान चोकसम्म बाटो फराकिलो बनाउन लागेको उनले बताए ।