पाचँथर, २४ बैशाख। कुरीति, अन्धविश्वास र बेथितिमा रहेको लिम्बू (किरात) समुदायमा ‘सत्य धर्म मुचुल्का’ मार्फत सुधारको अभियान थालिएको सम्झनामा वैशाख २४ गते मंगलबार ८९औँ समाज सुधार दिवस मनाइँदैछ।
विसं १९८८ वैशाख २४ गतेका दिन पाँचथरको फिदिम नगरपालिका–५, चोकमा पर्ने लब्रेकुटीमा समाज सुधारका निम्ति सातबुँदे सत्यधर्म मुचुल्का घोषणा गरिएको थियो। त्यही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्षको वैशाख २४ गतेलाई लिम्बू समुदायसहित पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समाज सुधार दिवसका रुपमा मनाउँदै आएका छन्।
समाज सुधारको अभियान थालेका महागुरु फाल्गुनन्द लिङ्देनले तत्कालीन लिम्बुवान् क्षेत्रका राजा तथा प्रशासकको चुम्लुङ (भेला) गराएर मुचुल्का निर्माण गरी यसलाई लागू गर्ने सहमति गराई घोषणा गरेको विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख छ।
सोही ऐतिहासिक दिनको सम्झना तथा सत्य धर्म मुचुल्कानुसारको व्यवहार गर्न समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष समाज सुधार दिवस मनाइँदै आएको लिम्बू समुदायको इतिहास, भाषा तथा संस्कृतिका ज्ञाता राजेन्द्रकुमार जवेगूको भनाइ छ। यस अवसरमा पाँचथरसहित लिम्बू समुदायको बसोबास भएका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
पाँचथरमा महागुरु फाल्गुनन्दले तपस्या तथा साधना गर्नुभएको फिदिम नगरपालिका–५ स्थित लब्रेकुटीमा धार्मिक प्रवचन, सत्य धर्म मुचुल्कामाथि थप प्रकाश पार्ने कार्यक्रम आयोजना गरिएको किरात धर्म तथा साहित्य उत्थान सङ्घ पाँचथरका सचिव सुवास तुम्बापोले जानकारी दिए।
मासु र मदिराको अत्यधिक प्रयोग गर्ने किरात समुदायलाई धार्मिक कार्य जीवन सुहाँउदो तरिकाले गर्न तथा मासु र मदिराको प्रयोगबाट समाज विकासलाई रोकिने स्थितिमा नपु¥याउन आग्रह गर्दै सत्य धर्म मुचुल्का घोषणा गरिएको थियो। लब्रेकुटी किराँतीहरु पावन भूमिका रुपमा चर्चित छ।
किरात धर्मका अनुयायीहरुले पवित्र भूमिका रुपमा लिने उहाँको कर्मभूमि तथा समाधिस्थल समेतलाई समेटेर नेपाल सरकारले ‘फाल्गुनन्द परिपथ’लाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ। लब्रेकुटी र सिलौटीको विकासका निम्ति प्रदेश सरकारले छुट्टै पर्यटन विकास योजना तयार पारिरहेको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको भनाइ छ।
यी स्थानले विश्व शान्ति, मानव एकता, अहिंसा र सुधारको सन्देश दिने भएकाले विश्वभरका पर्यटकलाई आकर्षण गराउने उद्देश्यसहित प्रदेश सरकारले काम अघि बढाउने उनले बताए।